३१ भाद्र २०८१, सोमबार

विश्वविद्यालयका कारण विद्यार्थी विदेशीए भन्नु गलत हो:शिक्षामन्त्री भट्टराई

प्रकाशित मिति :  10 August, 2024 5:15 pm


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीहरु विदेशीनुमा विश्वविद्यालयको गल्ती नभएको दाबी गरेकी छिन् ।

त्रिभुवन विश्वविद्यालय एल्मुनाई एशोसिएशन नेपालको ५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले भनिन्, “विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको गल्ती होइन, रोजगारीको अभाव हो । नेपालको राजनीतिक अस्थिरताका कारण यहाँ केही हुँदैन भन्ने निराशाले पनि विद्यार्थी विदेशीदै छन् ।”

राजनीतिक स्थिरता नभएसम्म मुलुकको समस्या यथावत रहने बताउँदै मन्त्री भट्टराईले अस्थिरताको प्रभावले देश छोड्ने विद्यार्थीको संख्या बढिरहेको बताइन् । “अस्थिर राजनीतिका कारण मुलुकमा गुणस्तरिय शिक्षा पाउन सकिदैन् भन्ने बहस जब हामी सुरु गर्छौं, त्यति नै यहाँ विद्यार्थीहरु स्वदेशमा बस्न सक्दैनन् । हामी एकातिर विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनेर भन्छौं, अर्कोतिर हरेक समस्याको कारण राजनीति हो भनेर भन्छौं यो दुविधायुक्त कुराले पनि युवालाई निरुत्साहित गरिरहेको छ ।”

नीतिमा टेकेर काम गर्ने अवस्था सिर्जना नभएसम्म स्वचालित शिक्षालगायत मुलुकमा व्याप्त समस्या समाधान नहुने मन्त्री भट्टराईको भनाइ थियो । “हरेक क्षेत्र आफैंमा सबल र स्वचालित हुनुपर्छ भनेर भन्छौं भने त्यो क्षेत्रमा नीति र कानुन चाहिन्छ । यसका साथै त्यसलाई परिचालन गर्नका लागि राजनीतिक संयन्त्र र नेतृत्वहरु सशक्त र क्रियाशील हुनुपर्छ । तर, आजसम्म हस्तक्षेपकारी नीति नहुँदा हाम्रा संस्थाहरु दुर्बल भइरहेका छन्”, मन्त्री भट्टराईले भनिन्, “नीतिले हस्तक्षेप गर्नुपर्ने हो । नीतिले हस्तक्षेप नगरेर नेतृत्वले हस्क्षेप गर्ने वा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्ने जुन खालको अवस्था आज देखिएको छ, यसको कारण आजको परिणाम आएको हो भन्ने कुरा स्वीकार गर्न सक्नुपर्छ ।”

सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्ने बताउँदै मन्त्री भट्टराईले भनिन्, “हामीले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्छ । विश्वविद्यालयको अनुसन्धानलाई सरकारले गरेका कामहरुसँग जोड्न सक्नुपर्छ । विश्वविद्यालयको नीति बनाउँदा सबैभन्दा पहिला कुरा भनेको अनुसन्धान नीति कस्तो हुने ? त्यसले विश्वविद्यालयलाई कसरी निर्देशन गर्ने ? भन्ने कुरामा गम्भिर हुन आवश्यक छ ।”



प्रतिक्रिया दिनुहोस !