सुनको मूल्यमा सात सय रुपैयाँको गिरावट, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली सुन बजारमा आज उल्लेखनीय गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज ७०० रुपैयाँ घटेर १ लाख ८८ हजार १०० रुपैयाँमा झरेको छ । निरन्तर उकालो लागेको सुनको मूल्यमा आएको यो पछिल्लो गिरावटले बजारमा खस्कँदो प्रवृत्तिको सङ्केत देखाएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मङ्गलबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँमा झरेको हो। सुनका तुलनामा चाँदीमा देखिएको गिरावट सानो भए पनि लगानीकर्ताका लागि सतर्कता अपनाउनु पर्ने संकेतका रूपमा लिइएको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा केही तलमाथि भइरहेको देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएको जानकारीअनुसार आज सुन प्रतिऔँस ३,३१० अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।
अमेरिकी अर्थनीति, ब्याजदर, डलरको मजबुती तथा भू-राजनीतिक घटनाक्रमले विश्व बजारमा सुनको मूल्य घटबढ गराउने गरेको विशेषज्ञहरूको विश्लेषण छ।
सुनचाँदी बजार विश्लेषकहरूका अनुसार वैश्विक अर्थतन्त्रमा अनिश्चितता कायम रहेसम्म सुनमा चाप रहिरहनेछ भने चाँदीको मूल्य पनि सोहीअनुसार प्रभावित हुने सम्भावना रहन्छ।
नेपालमा सुनको माग चाडपर्व तथा विवाहको मौसमसँग सम्बन्धित भएकाले आन्तरिक मागको घटबढले पनि मूल्य निर्धारणमा असर पार्ने बताइएको छ।