हुलाकी सडकले सुगम बन्दै राप्तीपारिका क्षेत्र : सुगम बन्याे राप्ती सोनारी
राप्ती सोनारी अब बाँकेको नयाँ सम्भावनाको नाम हो भने हुलाकी सडक त्यो सम्भावनासम्म पुग्ने सेतु हाे
बाँके । एक समय थियो, जब सोनारी क्षेत्रको नाम सुनिँदा मानिसहरूले भन्छन्थे, “उ त्यहाँ त राप्ती नदीपारीको टाढाको गाउँ हो, पुग्नै गाह्रो ! ” आज त्यो धारणा परिवर्तन हुँदै गएको छ । कचनापुर र बिनौनालाई जोड्ने राप्ती नदीमाथिको पुल र सँगसँगै बनेको हुलाकी सडकले यो गाउँलाई ‘दुर्गम’ होइन, ‘सुगम’ बनाइदिएको छ।
खोलापारिको सन्नाटा अब चहलपहलमा बद्लियो
राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरी भछन्, “हुलाकी सडक र पुल बनेपछि यहाँका जनताले साँच्चिकै विकास छुन थालेका छन् ।”
अब मानिसको आवागमन सहज भएको छ। दुर्गम ठानिएको बैजापुर, बिनौना र फत्तेपुर अब चहलपहल र सम्भावनाको केन्द्र बन्दै गएका छन् । साना तथा घरेलु उद्योग, पसल, होटल र कृषि व्यवसाय विस्तार हुँदै गएको छ ।
बैजापुरस्थित भुवरभवानी मन्दिर, बिनौनाको धुमैया उद्यान, र बाबा बर्फानी स्थान आजकल सप्ताहन्तमा भरिभराउ देखिन्छन् ।
राप्ती पुलको आकर्षण आफैँमा नयाँ पर्यटकीय थलो बनेको छ । “पहिले राप्ती पार गर्नु भनेको जोखिम थियो, आज सेल्फी खिच्ने ठाउँ भएको छ,” एक स्थानीय युवाले भने ।
पूर्वाधारले तानेकाे अवसर
राप्ती सोनारी–५ स्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्ट भन्छन्, “सडक र पुल बनेपछि यहाँको जीवनशैलीमा नै परिवर्तन आएको छ ।”
हुलाकी सडकले नेपालगञ्ज–बघौडा हुँदै अगैया जोडिएको मार्ग छोटो बनाइदिएको छ । अब साना–ठूला गाडी सजिलै आउँछन्, पसलमा सामान आउन ढिलो हुँदैन। यो सडक मुख्य राजमार्गको विकल्प बनेको छ ।
राप्ती सोनारी–५ का जमानसिंह वलीले बताउँछन्, “हामी कहिल्यै सोचेका थिएनौँ, हाम्रो गाउँमा पनि कंक्रिटको पुल बन्छ भनेर।”
अब गाउँको दुबै किनार आपसमा जोडिएको छ, समाज जोडिएको छ ।
व्यवसाय फस्टाउँदै छ, युवाहरू गाउँ फर्किन थालेका छन् तर उहाँको आग्रह पनि छ-“अब कृषि र आयआर्जनका कार्यक्रम ल्याएर स्थानीय सरकार अगाडि बढ्नुपर्छ ।”
यो कथा एक गाउँको मात्र होइन-यो कथा हो पूर्वाधारले बदलिएको भूगोलको, राष्ट्रिय बाटोले भेटाएको स्थानीय भविष्यको । जहाँ पहिले खोलाले टोक्थ्यो, अहिले त्यही खोलापारि जीवन मुस्कुराइरहेको छ । राप्ती सोनारी अब बाँकेको नयाँ सम्भावनाको नाम हो र हुलाकी सडक त्यो सम्भावनासम्म पुग्ने सेतु ।








