राजनीतिक दलमाथिको प्रहार लोकतन्त्रविरुद्धको प्रहार हो : महासचिव पोखरेल
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दलमाथिको प्रहारलाई लोकतन्त्रविरुद्धको प्रहारका रूपमा चित्रण गरेका छन् । प्रेस चौतारी दाङले बिहीबार घाेराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हालको राजनीतिक अवस्थालाई राज्यविहीनता निम्त्याउने प्रयत्नको हिस्सा रहेको बताएका हुन् ।
महासचिव पोखरेलले भने, “राजनीतिक दलमाथि प्रहार गरेर राज्यविहीनताको अवस्था सिर्जना गर्न खोजिएको छ । यो लोकतन्त्र माथिको प्रहार हो ।” उनले २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई दुई दृष्टिकोणबाट बुझ्नुपर्ने बताए-एकातिर नवयुवाको आकाङ्क्षा, अर्कोतर्फ आन्दोलनका क्रममा भएका घटनात्मक विकृति र राज्यले व्यहोरेको क्षति ।
उनका अनुसार भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने मागहरू जायज थिए, जसमा सरकारले दोस्रो माग पूरा गरिसकेकाले अब पहिलो मागतर्फ ठोस कदम चाल्नुपर्ने आवश्यकता छ ।
“यी दुवै पक्षलाई छुट्टाछुट्टै तरिकाले विश्लेषण गरेर अघि बढ्नुपर्छ,” पोखरेलले भने, “उमेर समूहलाई संगठनको रूपमा हेर्नु हुँदैन, यसले विचारविहीन अवसरवादको बीजारोपण गर्छ, जुन राष्ट्रहितमा हुँदैन ।”
जेन–जी आन्दोलनका क्रममा न्यायालयमाथि भएको आक्रमण सामान्य नभएको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसलाई नेपालको कानुनी व्यवस्थालाई अस्थिर बनाउने षड्यन्त्रको परिणाम भएकाे दाबी गरे ।
“जेन–जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका नै थिएन,” उनले भने, “कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रका कारण त्यस्तो घटना भएको हो ।”
महासचिव पोखरेलले आन्दोलनमा उठाइएका मागहरू उचित भए पनि त्यसमा राष्ट्रविरोधी र स्वार्थी तत्वले घुसपैठ गरेको आरोप लगाए ।
उनले वर्तमान सरकारलाई एनजीओ र आइएनजीओहरूको प्रभावमा चलिरहेको बताउँदै भने, “नेपालको संविधानले गैरसरकारी संस्थालाई आन्दोलनको स्टेकहोल्डर बन्ने अधिकार दिएको छैन, तर सरकारले तिनलाई त्यही भूमिकामा पुर्याएको छ ।”
उनले आन्दोलनका नाममा प्रहरीका हतियार लुटिनु र कैदीहरू बाहिर रहनुजस्ता घटनाले मुलुकमा असुरक्षा बढाएको उल्लेख गर्दै त्यसले आउँदो निर्वाचनमा त्रास फैलाउने सम्भावना रहेको चेतावनी समेत दिए ।








