१९ मंसिर २०८२, शुक्रबार

जुकाको औषधि घाँटीमा अड्किँदा दाङमा १८ महिने बालिकाको मृत्यु

प्रकाशित मिति :  8 November, 2025 8:59 pm


दाङ । जुकाको औषधि घाँटीमा अड्किएर दाङमा १८ महिने बालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादवको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गत बिहीबार गढवा गाउँपालिका–४ रामनगरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदा बालिकाकाे घाँटीमा अड्किएकाे थियाे ।

राष्ट्रव्यापी रूपमा सञ्चालित भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमका क्रममा औषधि घाँटीमा अड्किएपछि सास नपुगी बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको सानो घाँटीमा अड्किएको देखिएको छ । “सास फेर्न नसक्दा केही मिनेटमै ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,” निरीक्षक बमले जानकारी दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टम प्रतिवेदन आएपछि मृत्युको कारण र औषधिको प्रकारबारे थप स्पष्टता आउने बताइएको छ ।

स्थानीय बासिन्दाहरूले यस घटनापछि जुकाको औषधि वितरण अभियानमा सावधानीका मापदण्ड बलियो बनाउन माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !