१९ मंसिर २०८२, शुक्रबार

काज सरुवाकाे बिराेधमा राेल्पाकाे त्रिवेणीका चार विद्यालयको सामूहिक ध्यानाकर्षण

प्रकाशित मिति :  14 November, 2025 9:29 pm


दाङ । रोल्पाको त्रिवेणी गाउँपालिकामा हालै गरिएको काज सरुवाले विद्यालयको नियमित शैक्षिक वातावरणमा अव्यवस्था सिर्जना गरेको भन्दै स्थानीय चार विद्यालयले शुक्रबार गाउँपालिकालाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक–अभिभावक संघका प्रतिनिधिसहितको टोलीले यस विषयलाई “शिक्षण–अधिगम प्रक्रियामै असर पर्ने निर्णय” भन्दै पुनर्विचारको माग गरेको छ ।

शिक्षक तथा कर्मचारीको एकैपटक गरिएको काज सरुवाले कक्षाकोठा सञ्चालन, पठनपाठन योजना र विद्यार्थीको अनुशासन व्यवस्थापनमा गम्भीर चुनौती खडा भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

“मंसिर ५ गतेभित्र काज सरुवा फिर्ता गरिनुपर्छ, नत्र विद्यालय सञ्चालन नै अनिश्चयमा पर्छ,” पत्रमा स्पष्ट चेतावनी छ । चारै विद्यालयले पालिकाले शैक्षिक मन्त्रालय तथा स्थानीय शिक्षा नीतिको मूलभावनालाई बेवास्ता गर्दै सिधै सरुवा निर्णय गरेको आरोप पनि लगाएका छन्।

उनीहरूले शिक्षक अभावकै कारण पठनपाठन ‘असहज मात्र होइन, असम्भव’ हुने स्थिति सृजना भएको दाबी गरेका छन्।ध्यानाकर्षण पत्रमा चेतावनी दिइएको छ कि पालिकाले समस्या समाधानका लागि तत्काल कदम नचाले विद्यार्थी र अभिभावकसहित विद्यालयहरू पालिका केन्द्रित विरोध कार्यक्रममा उत्रिन बाध्य हुनेछन् ।

यो अभिभावक–समुदायको सहभागितासहितको सम्भावित आन्दोलनले स्थानीय तहको शिक्षा व्यवस्थापनबारे थप ठूलो प्रश्न खडा गर्ने देखिन्छ।

श्री जनश्रम प्राथमिक विद्यालय (त्रिवेणी–१ हुन्दुङ), श्री नेपाल राष्ट्रिय प्रावि (त्रिवेणी–१ तुक्ला), श्री अनवती प्रावि (त्रिवेणी–७ बर्तिवाङ), श्री नेपाल राष्ट्रिय प्रावि (त्रिवेणी–२ रामपुर) तथा अखिल नेपाल शिक्षक संगठन रोल्पा जिल्ला समिति संयुक्त रूपमा प्रस्तुत भएका थिए ।

सहभागीहरूले “विद्यालयलाई स्थिरता चाहिन्छ, प्रशासनिक प्रयोगका नाममा अस्थिरता होइन” भन्दै सरुवा निर्णयले शिक्षा क्षेत्रलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।

स्थानीयवासीको भनाइमा, पालिकाले कक्षा शिक्षणमा प्रत्यक्ष असर पर्ने निर्णय लिनुअघि विद्यालयसँग गम्भीर परामर्श गर्नुपर्ने थियो । अहिले भने विद्यार्थी नै असरमा पर्न थालेपछि विद्यालयहरू सामूहिक रूपमा आवाज उठाउन बाध्य बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !