१९ मंसिर २०८२, शुक्रबार

राप्तीमा ३२ जना पत्रकारको निशुल्क आँखा तथा स्वास्थ्य जाँच

प्रकाशित मिति :  22 November, 2025 10:39 am


देउखुरी । दाङको राप्ती गाउँपालिकामा आयोजित पत्रकारका लागि निशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरले सूचना र सञ्चारमा सक्रिय वर्ग पनि स्वास्थ्य जोखिममा रहेको गम्भीर संकेत दिएको छ ।

शिविरमा सहभागी ३२ पत्रकारमध्ये अधिकांशमा आँखा कमजोर देखिएको तिलगंगा सर्जिकल आँखा केन्द्रका नेत्र अधिकृत बिमल बुढा क्षेत्रीले जनाए ।

यो तथ्यले दीर्घ समय कम्प्युटर स्क्रिन, रातको रिपोर्टिङ, अनियमित खानपान र व्यस्त कार्यतालिकाले पत्रकारको स्वास्थ्यमा कति ठूलो प्रभाव पारिरहेको छ भन्ने पक्षलाई अगाडि ल्याएको छ ।

शिविरलाई स्वास्थ्य अवस्था पहिचानसँगै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा कसरी विस्तार भइरहेको छ भन्ने परीक्षणमूलक गतिविधिका रूपमा पनि हेरिएको छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले शिविर उद्घाटन गर्दै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदेश सरकारको शीर्ष प्राथमिकता बनेको बताए ।

उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाका रूपमा रूपान्तरण गर्ने र दुर्गम क्षेत्रमा चिकित्सक तथा सेवा सन्तुलित रूपमा पठाउने नीति सक्रिय रूपमा लागू भइरहेको छ। मन्त्री सारुले सही तथ्यमा आधारित पत्रकारिता स्वास्थ्य सुधारका लागि पनि महत्त्वपूर्ण हुने धारणा राखे ।

राप्ती प्रेस मञ्चले आयोजना गरेको शिविरमा आँखा परीक्षण तर्फ तिलगंगा सर्जिकल आँखा केन्द्रका बिमल बुढा क्षेत्री र नेत्र सहायक मिना जिएम तथा स्वास्थ्य जाँच आध्या मेडिकलका स्वास्थ्यकर्मी सुदन घिमिरेले सेवा प्रदान गरेका थिए ।

क्षेत्रीका अनुसार अधिकांश पत्रकारमा चस्माको आवश्यकता देखिनु डिजिटल युगमा सञ्चारकर्मीको स्वास्थ्य जोखिम बढ्दै गएको संकेत हो।

शिविरलाई स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारको एक उदाहरणका रूपमा पनि हेरिएको छ। कार्यक्रममा वडा अध्यक्ष देवप्रसाद चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी, उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीलगायतले ग्रामीण क्षेत्रमा यस्ता शिविरले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउने प्रतिक्रिया व्यक्त गरे।

शिविर वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने मञ्चका प्रमुख संरक्षक महेश रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नुभयो।



प्रतिक्रिया दिनुहोस !