सरकार जेनजी पुस्ताको ‘स्पिरिट’अनुसार चल्न सकेनः अध्यक्ष घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी पुस्ताको आन्दोलनको भावनाअनुसार वर्तमान सरकार अघि बढ्न नसकेको बताएका छन्।
उनले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, स्वदेशमै रोजगारी र राज्यका निकायमा युवाको सहभागितालगायतका माग सम्बोधन गर्न सरकार असफल भएको आरोप लगाए।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको स्मृतिमा मंगलबार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै घिसिङले दुई तिहाइ बहुमतको सरकारले जनतामा रहेको निराशालाई आशामा बदल्नुपर्ने बताए।
उनले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जेनजी पुस्ताले उठाएका विषय सम्बोधन गर्ने दिशामा सरकार अघि बढ्न नसकेको दाबी गरे।
“जेनजीहरूको माग सरकार परिवर्तन मात्र थिएन। मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने माग पनि थियो। युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनोस्, राज्यका निकायहरूमा जेनजीलाई पनि सहभागी गराओस् भन्ने युवा पुस्ताको भावनाअनुसार अहिलेको सरकार बनेको हो,” उनले भने।
घिसिङले जेनजी आन्दोलनको भावनाअनुसार काम गरेर युवाहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताए। दुई तिहाइको जनमत प्राप्त सरकारले आन्दोलनका क्रममा उठेका विषयलाई गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
“दुई तिहाइको सरकारले जेनजी आन्दोलनको भावनाअनुसार अघि बढेर उनीहरूका मागहरू सम्बोधन गर्नुपर्छ भन्ने हामी सबैको चाहना हो। तर, ६ महिना बितिसक्दा समेत सरकार त्यतातर्फ अघि बढ्न सकेको छैन,” उनले भने।
उनले सरकारसामु आम नागरिक र युवापुस्तामा रहेको निराशा चिर्ने ठूलो चुनौती रहेको बताए। सरकारबाट जनताको अपेक्षा पूरा हुनुको सट्टा निराशा थपिएको उनको आरोप थियो।
“सरकारले आम जनता र युवापुस्तामा रहेको निराशा चिर्नुपर्ने चुनौती रहेको छ। दुई तिहाइको सरकारले यो निराशालाई आशामा बदल्नुपर्नेमा ठीक उल्टो भएको छ,” उनले भने।
घिसिङले सरकारलाई जेनजी पुस्ताको भावना र आन्दोलनका उद्देश्यअनुसार अघि बढाउन सबै पक्षबाट खबरदारी आवश्यक रहेको बताए। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न तथा युवाका अपेक्षा सम्बोधन गर्न सरकारमाथि निरन्तर दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारका सदस्य तथा घाइतेहरूले पनि आन्दोलनका क्रममा उठाइएका माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले शहीद परिवार तथा घाइतेका समस्या सम्बोधन गर्नसमेत सरकारको ध्यानाकर्षण गराए।
जेनजी पुस्ताले गत वर्ष भदौ २३ गते संघीय राजधानी काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो। प्रहरी दमनको विरोधमा भोलिपल्ट भदौ २४ गते देशव्यापी प्रदर्शन चर्किएको थियो।
दुई दिनसम्म चलेको आन्दोलनमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका साथै विभिन्न सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटसमेत भएको थियो।









