२४ भदौ २०८३, बुधबार

हिमालको निगरानी र सीमापार पूर्वसूचना प्रणालीलाई राष्ट्रिय प्राथमिकता बनाऔँः सांसद राणा

प्रकाशित मिति :  9 September, 2026 3:02 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदीको रियल टाइम निगरानी, सीमापार पूर्वसूचना प्रणाली र जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउन सरकारसँग माग गरेकी छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएकाले हिमाल तथा हिमनदीको संरक्षण र निगरानीमा विशेष ध्यान दिनुपर्ने बताइन्।

रसुवाको भोटेकोशीमा आएको बाढी एउटा विपद् मात्र नभई हिमालयले दिएको चेतावनी भएको उनले बताइन्। उनका अनुसार सन् २००० यता हिन्दुकुश हिमालयमा हिमनदी पग्लिने गति झन्डै दोब्बर भएको र हालकै उत्सर्जन कायम रहे यस शताब्दीको अन्त्यसम्म हिमनदीको आयतन ८० प्रतिशतसम्म घट्न सक्ने वैज्ञानिक अध्ययनले देखाएको छ।

नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.१ प्रतिशत मात्रै भए पनि जलवायु परिवर्तनको मूल्य नेपालले जीवन, बस्ती र पूर्वाधारबाट चुकाइरहेको भन्दै उनले जलवायु न्यायका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन्।

‘हिमनदी र हिमालको रियल टाइम मोनिटरिङ, क्रस बोर्डर अर्ली वार्निङ सिस्टम र जलवायु अनुकूलन संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाऔँ,’ उनले भनिन्। – न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !