हराएका मतदाता फर्काउन मंसिरमा देशव्यापी संवाद अभियान चलाउने गगन थापाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने देशव्यापी संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्।
मंगलवार पोखरामा आयोजित कार्यक्रममा बोल्दै थापाले विगतमा कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदाताको गुनासा सुन्न र उनीहरूको विश्वास पुनः स्थापित गर्न घरदैलोमै पुग्नुपर्ने बताएका हुन्।
मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै उनले नेता तथा कार्यकर्तालाई जनताको घरमै पुगेर उनीहरूका प्रश्नको जवाफ दिन आग्रह गरे। कांग्रेसले विगतमा गरेका कामको चर्चा मात्र गरेर नपुग्ने भन्दै उनले वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने बताए।
कांग्रेसको १५ औँ महाधिवेशनपछि पार्टी नयाँ सोच र सङ्कल्पसहित अघि बढेको उल्लेख गर्दै थापाले विगतमा पार्टीबाट टाढिएका मतदाताका गुनासा सम्बोधन गरेर उनीहरूको विश्वास फर्काउन सकिने बताए।
पार्टीभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय आवश्यक रहेकोमा जोड दिँदै उनले चारै पुस्ताको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए। नयाँ पुस्तासँग नयाँ सोच र ज्ञान तथा पुराना पुस्तासँग अनुभव रहेको उल्लेख गर्दै उनले दुवै पक्षका क्षमता र अनुभवलाई एकीकृत गरेर अघि बढ्नुपर्ने धारणा राखे।
आगामी स्थानीय तह निर्वाचनमा महिला, सबै जातजाति, भाषाभाषी तथा समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि थापाले बताए। उम्मेदवार छनोटमा तल्लो तहका पार्टी सदस्यलाई निर्णायक भूमिका दिनुपर्ने उल्लेख गर्दै उनले पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै पार्टी सदस्यले तथा स्याङ्जा र तनहुँका उम्मेदवार सम्बन्धित जिल्लाकै पार्टी सदस्यले छनोट गर्ने व्यवस्था रहेको बताए।
पार्टीका नेता तथा सम्भावित उम्मेदवार केन्द्रमा मात्र सीमित नभई गाउँ, वडा र टोलसम्म पुग्नुपर्ने उनको भनाइ छ। नेताहरूको स्वागतमा तामझाम गर्ने, माला र खादा लिएर लामबद्ध हुने तथा लामो सवारीसाधनको लस्कर लगाउने प्रवृत्तिले जनतामा नकारात्मक सन्देश जाने उनले बताए।
नेताहरू सर्वसाधारणसँग सहजै भेटिने, उनीहरूका कुरा सुन्ने र जनताकै बीचमा रहेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै थापाले कांग्रेसको काम गर्ने शैली र नेताहरूको व्यवहार परिवर्तन गर्नुपर्ने बताए।
आफूले पार्टी सभापतिको जिम्मेवारीलाई नयाँ अध्यायका रूपमा लिएको उल्लेख गर्दै उनले आगामी चार वर्ष पार्टीलाई व्यवस्थित बनाउँदै जनतासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कांग्रेसको नेतृत्व गर्नु पार्टीको संगठन व्यवस्थापनमा मात्र सीमित नभई नेपालको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने जिम्मेवारीसमेत भएको उनको भनाइ थियो। यसका लागि पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको निरन्तर साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताए।
– न्युज एजेन्सी नेपाल








