१२ कार्तिक २०८३, बुधबार

चार ओभरमा ब्याटर हतारिए: विराटनगरका कप्तान सन्दीप

प्रकाशित मिति :  28 October, 2026 7:44 am


काठमाडौं।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले चितवन राइनोजविरुद्ध जितको नजिक पुगेर पनि ब्याटरले हतार गर्दा हार बेहोर्नुपरेको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनसँग ८ रनले पराजित भएपछि कप्तान सन्दीपले पहिलो इनिङदेखि दोस्रो इनिङको १६औँ ओभरसम्म खेल आफ्नो पक्षमा रहेको बताए । तर, त्यसपछि ब्याटरले खराब सट खेल्नु र क्रिजमा लामो समय बिताएका ब्याटरलाई ननस्ट्राइकमा राख्नु हारका कारण बनेको उनको भनाइ छ ।

“हामी छिटै सेलिब्रेसनको मुडमा पुग्यौँ । पाएको अवसर सदुपयोग गर्न सकेनौँ । हतारिँदा खेल गुम्न सक्छ भन्ने शिक्षा यो नतिजाले दिएको छ,” सन्दीपले भने ।

जितको संघारसम्म पुग्न पहिलो इनिङदेखि नै धेरै खेलाडीले मेहनत गरेको भए पनि अन्तिम पाँच ब्याटरले त्यसलाई सदुपयोग गर्न नसकेको उनले बताए । आगामी खेलमा यस्ता गल्ती नदोहो¥याउने विश्वास व्यक्त गर्दै उनले अनुभवी ब्याटरले धैर्य नगुमाएको तर नयाँ ब्याटरका लागि पिचमा खेल्न सहज नभएको उल्लेख गरे ।

सट छनोट भने खराब रहेको सन्दीपले स्वीकार गरे । चितवन बलियो टोली रहेको उल्लेख गर्दै उनले टी–२० क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर आँकलन गर्न नहुने बताए । चितवनका बलरले राम्रो प्रदर्शन गरेको र विराटनगरको मध्यक्रम तथा तल्लो क्रमका ब्याटरले अपेक्षाअनुसार खेल्न नसकेको उनको भनाइ छ ।

आन्द्रे रसेलले राम्रो खेले पनि खेल जिताउने गरी अन्त्य गर्न नसक्दा आफू निराश भएको सन्दीपले बताए । अहिले नै कुनै खेलाडीको प्रदर्शनबारे मूल्याङ्कन गर्नु हतार हुने उनको भनाइ थियो ।

विराटनगरविरुद्ध चार विकेट लिएका चितवन राइनोजका मध्यक्रमका बलर कमलसिंह ऐरीले विकेट प्राप्त गर्ने लक्ष्यसहित स्टम्पको लाइनमा बलिङ गरेको बताए ।

“त्यहीअनुसार ब्याटरले लाइन क्रस गरेर खेल्दा विकेट आयो,” कमलसिंहले भने ।

आन्द्रे रसेलविरुद्ध बलिङ गर्दा लाइन बिग्रिएमा उनले ठूलो सट प्रहार गर्न सक्ने आफूलाई लागेको कमलसिंहले बताए । एउटा बल राम्रो गर्न सके विकेट लिन सकिने विश्वासका साथ बलिङ गरेको उल्लेख गर्दै उनले छक्का खाए पनि रसेल र एन्जेलो म्याथ्युजलाई आउट गर्न सफल भएको बताए ।

हरेक खेलमा ध्यान केन्द्रित गरेर खेल्ने योजना रहेको कमलसिंहले सुनाए ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !