१५ बैशाख २०८१, शनिबार

कुलमान घिसिङबारे उर्जा मन्त्री पुनले तोडेको मौनता र मिलेको ‘टोन’

प्रकाशित मिति :  30 August, 2020 1:02 pm


काठमाडौं, १४ भदौ ।

यसै हप्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुर्ननियुक्तिको हल्ला फैलियो ।

पुर्ननियुक्तिको हल्ला लगत्तै उर्जा मन्त्री वर्षमान पुनले मिडियामा यस विषयमा निर्णय मात्रै होईन कि छलफल समेत नभएको भनेर प्रष्टिकरण दिए । कुलमानको कार्यकाल यही भदौ मसान्तबाट सकिन लाग्दा प्राधिकरणमा उनको निरन्तरताबारे सार्वजनिक बहस भएपनि उर्जा मन्त्री मौन बसिरहे ।

कतिसम्म भने कुलमानसँग सम्बन्ध राम्रो नभएको हल्ला फैलाएर सामाजिक सञ्जालमा आलोचना भएपनि उर्जा मन्त्री पुनले थप आफ्नो धारणा सार्वजनिक गरेनन् ।

बरु मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता अर्थ मन्त्री डा. युवराज खतिवडाले “सरकारले होईन सामाजिक सञ्जालले उहाँलाई नियुक्त गरेको होला त्यो सरकारलाई थाहा हुने कुरा भएन” भन्दै ‘छुच्चो’ प्रतिकृया दिए । यो अभिव्यक्तिलाई लिएर कुलमानको निरन्तरतामा आशंका समेत फैलियो ।

सामाजिक सञ्जालमा सरकारका प्रवक्ता खतिवडाको आलोचना चलिरहेका बेला उर्जा मन्त्री पुनले बल्ल आफ्नो मौनता तोडे । अनलाइन खबरसँग शनिबारको अन्तवार्ताका क्रममा उनले भनेका छन्,“अब के गर्ने भन्नेमा विगतको सरकारले चार वर्षका लागि नियुक्ति गर्यो, त्यो अवधि भदौ २९ गते सिकिँदैछ । २९ गते आउन अझै केही समय छ । शुभचिन्तकहरुले दोहोर्याउनुपर्यो भन्ने सुझाब पनि दिनुभएको छ । मिडियाहरुबाट पनि सुझावहरु आएका छन्, यसलाई मैले नकारात्मक रुपमा लिएको छैन । मैले यसबारेमा प्रधानमन्त्रीज्यूसँग कुरा गरेको छु । उहाँलाई पनि सकारात्मक नै पाएको छु ।”

शनिबार नै समाचार दैनिकसँग कुरा गर्दै उर्जामन्त्री पुनले प्रष्ट भनेका छन्, “उहाँको कार्यकाल अझै केही दिन बाँकी नै छ । भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उहाँलाई दोश्रो कार्यकालका लागि नियुक्ती गर्नका लागि प्रस्ताव जाँदैछ । त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उहाँ दोश्रो कार्यकालका लागि नियुक्त हुनुहुनेछ ।”

यो बीचमा कुलमानको व्यवस्थापकीय पक्षबारे कुनै नेतृत्व नकारात्मक थिएन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निरन्तरताका लागि यसअघि नै पहिले नै ‘ग्रीन सिग्नल’ दिइसकेका थिए । तर कामको जस आफूले मात्रै लिने कुलमानको शैलीप्रति भने नेतृत्वपंक्ति ‘सचेत’ बनेको थियो ।

उर्जा मन्त्रालय स्रोतका अनुसार उर्जा मन्त्री पुन पनि कुलमानको एकलकाँटे शैलीले असन्तुष्ट थिए । त्यसैले हुनसक्छ अन्तवार्ताकै क्रममा पुनले भनेका छन्, “उहाँ व्यवस्थापकीय, कुशल क्षमता भएको योग्य मान्छे हो । उहाँले आफ्नो चार वर्षे कार्यकाल राम्रोसँग पूरा गर्नुभयो । त्यसमा राजनीतिक नेतृत्वले पनि राम्रो सपोर्ट गर्यो । मैले पनि उहाँको काममा कुनै हस्तक्षेप गरिनँ, उहाँलाई पूर्णरुपमा काम गर्न दिएँ । र, स्वाभाविकरुपले संस्थान राम्रो हुँदा मन्त्रालयलाई पनि, सरकारलाई पनि राम्रो हुने नै भयो ।”

राजनीतिक नेतृत्वको यो असन्तुष्टिलाई अब सच्चाउने संकेत घिसिङले विज्ञप्तिमार्फत स्पष्ट गरिसकेका छन् । त्यसैले यसै हप्ता उनले विज्ञप्ति निकालेर प्रधानमन्त्री, उर्जा मन्त्रीलगायत सबैको प्रयासले मात्रै लोडसेडिङ अन्त्य भएको भनेर सम्भवतः पहिलो पटक राजनीतिक नेतृत्वलाई जस दिएका छन् ।

कुलमानको  विज्ञप्ति सार्वजनिक भएपछि सत्तारुढ निकट रहेका प्राधिकरणको कर्मचारी नेतृत्वले समेत कुलमानले फेरि पुनःनियुक्ति हुने ठोकुवा गरेका छन् । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका सह-संयोजक खगेन्द्र शाहीले केही दिन यता विभिन्न मिडियालाई दिएको अन्तवार्तामा कुलमान घिसिङ फेरि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुने ठोकुवा गरेका छन् ।

शाही घिसिङलाई पहिलो कार्यकाल कार्यकारी निर्देशक बनाउनका लागि राजनीतिक नेतृत्वलाई सहमत गराउने मध्यका एक जना थिए । तर उनको तर्कपनि घिसिङले राजनीतिक नेतृत्वलाई कामको जस नदिएको सत्य भएको धारणा राखेका छन् ।

यतिबेला कुलमानको सबैभन्दा चर्को विरोध गर्नेमा पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले छन् । त्यसैले धेरैको बुझाईमा काफ्ले फेरि फर्केर आउन खोजको भन्ने छ । तर काफ्ले आफूलाई धेरै अपजस दिएको भनेर कुलमान विरुद्ध आक्रमक मिडियाबाजीमा उत्रिएपनि उनी पदकै दौडमा भने देखिदैनन् ।

तसर्थ प्रधानमन्त्रसहित सत्तारुढ नेकपाको नेतृत्व, प्राधिकरण भित्रको नेकपा निकटका कर्मचारी, उर्जा मन्त्रीको ‘टोन’ कुलमानकै पक्षमा देखिएको छ । तसर्थ कुनै भवितव्य नपरे नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशकको हैसियतमा दोहोरिने स्पष्ट छ ।



प्रतिक्रिया दिनुहोस !