२७ बैशाख २०८१, बिहिबार

कार्यकाल सकिनै लाग्दा मात्रै कुलमान घिसिङले सच्याउन खोजेको ‘एउटा गल्ती’

प्रकाशित मिति :  28 August, 2020 9:11 am



काठमाडौं, १२ भदौ ।

गएको वर्ष पोखरामा लिटिचर फेष्टिभल थियो । उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङपनि सहभागि थिए ।

कार्यक्रम सकिदै गर्दा दर्शकदिर्घाबाट उपेन्द्र अधिकारीले उज्यालो नेपाल अर्थात कुलमान घिसिङ ज्यूलाई एउटा प्रश्न भन्दै सोधे, ‘सम्भवत ९ महिनामा उत्पादन बढेन होला र पनि लोडसेडिङ हट्यो । यसको पछाडी तपाईंको कुनै लोभ भएन अथवा डर भएन ? के का कारणले लोडसेडिङ् हट्यो ?’

यो कुलमानलाई जो कोहीले पनि भेट्दा सोध्ने प्रश्न थियो ।

उनले जवाफ फर्काए भने, ‘तपाईंको प्रश्नको जवाफ दिन मलाई २,४ घण्टा चाहिन्छ । मलाई धेरै भन्न समय अभाव छ तर एउटै कुरा लोडसेडिङ अन्त्य गर्नका लागि सप्लाई गरेर मात्रै पुग्दैन त्यहाँ धेरै कुरा, त्यो डिमाण्ड साईट म्यानेजमेन्टको कुरा थियो । सप्लाई म्यानेजमेन्टको कुरा थियो,’ उनले भन्दै गए,‘ र त्यो भित्रको इन्टिग्रिटीको कुरा र भित्र डिस्क्रिमिनेट भइरहेको थियो, सप्लाईलाई युनिफम रुपमा कसरी गर्नुपर्ने थियो लगायत धेरै कुरा छन् । हामीले चाहीँ धेरै सुधार गरेर लोडसेडिङ अन्त्य गरेका हौं ।’

यो कार्यक्रममा कुलमानले विशुद्ध प्राविधिक कारण देखाएर लोडसेडिङ अन्त्य भएको भने । देशभरीका घिनेचुनेका व्यक्तिहरु जमघट भएको ठाउँमा उनले राजनीतिक नेतृत्वले खेलेको भूमिकाबारे उल्लेखै गरेनन् ।

जब लोडसेडिङ अन्त्यको प्रश्न आउँथ्यो घिसिङले करिब यस्तै जवाफ दिएर प्रशंसा बटुल्थे ।

सधै प्राविधिक पक्षको बढी वकालत गरेर जस आफूले मात्रै लिने र राजनीति नेतृत्वले खेलेको भूमिकालाई वेवास्था गर्ने घिसिङको भदौ ११ गते बेलुकी एउटा विज्ञप्ति आयो, ‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।”

सम्भवत: खुलेर पहिलोपटक घिसिङले लोडसेडिङ अन्त्यको जस राजनीतिक नेतृत्वसहित आफू मातहतका सबैलाई दिएका थियो ।

कसरी आयो विज्ञप्ति ?

कुलमानको कार्यकाल सकिन लागेपछि सामाजिक सञ्जालमा जर्बजस्त आवाज उठ्न थाल्यो, ‘फेरि पनि उनकै नियुक्ति हुनुपर्छ ।’ कुलमान नभए फेरि लोडसेडिङ हुनसक्छ भन्ने आँकलन मात्रै होईन बत्ति जाँदा पनि ‘कुलमानको कार्यकाल सकिनै लाग्दा बत्ति जाने आउने हुन थाल्यो के हो ?’ भनेर टिप्पणी हुन थाल्यो ।

सडकमा समेत उनको समर्थनमा प्रर्दशन भयो । यो उनको अलिकति कार्यक्षमता र अलिकति चलाखिपूर्ण तरिकाले कमाएको लोकप्रियताको उपज नै थियो ।

यत्ति हुँदाहुँदै सामाजिक सञ्जालमा कुलमानको विरोध र प्रतिवाद हुन सुरु भयो । उनका विरुद्ध पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले मिडियामा  सक्दो बोल्न सुरु गरे ।

राजनीतिक नेतृत्वलाई जस नदिएको भन्दै सत्तारुढ पार्टीका कार्यकर्ताले पनि कुलमानमाथी प्रश्न गर्न सुरु गरे । प्रधानमन्त्री, उर्जामन्त्री नै असन्तुष्ट रहेका जस्ता विषयहरु बाहिर आउन थाले । फेरि पुर्ननियुक्ति हुने हो भने घिसिङले आफ्नो कार्यकालभरी गरेको ‘एउटा गल्ति’ अर्थात सच्याउनै पर्दथ्यो ।

बाहिरको माहोल देखेपछि नेतृत्व पनि बुझेका र मिडियापनि बुझेका केही प्राधिकरणभित्रकै कर्मचारीले सुझाव दिए, ‘तपाईंले गरेको यो गल्ति सच्याउनुस् ।’ अर्थात लोडसेडिङ अन्त्यका जस राजनीतिक नेतृत्वलाई दिनपनि कञ्जुसाइ नगर्न सुझाव दिइयो ।

कुलमानलाई माया गर्ने कर्मचारी समूहले सम्झायो, ‘तपाईंलाई नियुक्ति गर्ने, नीतिगत सहजता गदिर्ने नेतृत्वको गुण बिर्सन भएन, आजसम्म जे भएको छ त्यो प्रधानमन्त्री, उर्जा मन्त्री, अर्थ मन्त्री, वन मन्त्रीको सहयोग नहुने हो भने कसरी काम गर्न सक्नु हुन्थ्यो ?’

कर्मचारीको एउटा पंक्तिले कुलमानलाई प्रष्ट भन्यो,‘ यदि जनदबावमा तपाईं नियुक्त हुनुभयो भनेपनि विद्युत क्षेत्रको विकासका लागि प्रधानमन्त्री, उर्जा मन्त्री,अर्थ मन्त्री, वनमन्त्रीको सहयोग भएन भने अब एक्लै के गर्नुहुन्छ ?‘ यसपछि घिसिङ झस्किए र विज्ञप्ति निकाले ।

सायद यिनै सुझावकाबीच घिसिङले विज्ञप्ति निकालेर भनेका छन्,‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धिहरु हासिल भएका छन् ।’

१८ घण्टासम्म लोडसेडिङका भुक्तभोगी बनेका आम नागरिकलाई कुलमानले गुण लगाएकै हुन् । तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठवन्धन सरकार हुँदा उर्जामन्त्री जनार्दन शर्माको कार्यकालमा कुलमान नियुक्त भए ।

जब नियुक्त भएर लोडसेडिङ अन्त्य भयो तब उनले आफ्नो लय समाते । उनले आफूलाई नियुक्त गर्ने, पूर्ण सहयोग गर्ने र सबै वातावरण मिलाईदिने राजनीतिक नेतृत्वलाई ‘बाइपास गर्न’ खोजेपछि राजनीतिक तहमा भित्रभित्रै असन्तुष्टि फैलिदै गएको थियो ।

उनी ‘भगवान’ मानिन थाले तर यसको जस उनलाई साथ दिने राजनीतिक नेतृत्वले पटक्कै पाएन । कुलमानलाई सुझाव दिएका एक कर्मचारीले भने,‘कुलमान सरको आफ्नो क्षमता पनि छ तर राजनीतिक नेतृत्वले सहयोग गरिदिएन भने उहाँले कसरी काम गर्न सक्नुहुन्छ ? गरेको कामको जस स्वभाविक रुपमा राजनीतिक नेतृत्वलेपनि खोजिहाल्छ तर त्यसमा उहाँ चुक्नुभएकै हो ।’

कतिपयको बुझाई के छ भने कुलमानको नियुक्ति लोडसेडिङ अन्त्यका लागि गरिएका विभिन्न योजना र निर्णयमा एउटा विषय थियो । लोडसेडिङ अन्त्यका लागि दिन रात घोत्लेर,फाइल च्यापेर हिडेका तत्कालिन उर्जामन्त्री जनार्दन शर्मासहित अहिलेका उर्जा मन्त्री वर्षमान पुन, मन्त्रालय र प्राधिकरणका कर्मचारी ‘घिसिङको हिसाब’भित्र आएनन् ।

उनलाई सहयोग गरेका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, वनमन्त्री लगायको भूमिकालाई कञ्जुसाइ गरिदिए । यसले कतै न कतै राजनीतिक नेतृत्वको मन कुँदिएको थियो । जुन कार्यकर्ता पंक्ति र निकटका मिडियामा आएका विषयले देखाउँछ ।

अब के ?

कुलमानले प्रष्ट रुपमा भन्ने अवस्था नभएपनि प्राधिकरणमा फेरि दोहोरिन चाहन्छन् भन्ने देखिन्छ । उनलाई दोहोराउन जनदबाव पनि छ यद्यपी अन्तिम निर्णय गर्ने अधिकार सरकारकै हातमा छ ।

उनकोबारेमा राजनीतिक नेतृत्व नकारात्मक नभएपनि राजनीतिक र नीतिगत जस जनतामाझ नदिने उनको शैली पचाउन मुस्किल देखिएको छ । यही शैलीमा अगाडी बढ्दा जन दबावले नियुक्त भएपनि सम्भवत कुलमानलाई काम गर्न सहज हुने छैन ।

तर, पछिल्लो विज्ञप्तिले घसिङ आफूले चार वर्षसम्म गरेको गल्ति सच्याउने प्रयास गरेको देखिन्छ । अर्थात प्राधिकरणमा एक पटक फेरि दोहोरिनका लागि लोडसेडिङ अन्त्य र विद्युत क्षेत्रको विकासको ‘जस बाँडफाँड’ गर्न उनी  तयार भएको बुझ्न गाह्रो छैन ।

 



प्रतिक्रिया दिनुहोस !