खगेन्द्र सुनारमाथि छानविन गर्दै रास्वपा, र्औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा प्रकाशित समाचार र सार्वजनिक श्रव्य सामग्रीमा उठाइएका प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ ।
पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ । छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ ।
पार्टीले महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर र संवेदनशील विषयका रूपमा लिएको जनाएको छ ।
यी विषय सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएको उल्लेख गर्दै रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ ।
पार्टीले सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ । राज्यका निकायले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
रास्वपाले राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ ।
कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने पनि पार्टीले स्पष्ट पारेको छ ।
सुनारको बारेका जनआस्थामा अडियो सहित समाचार आएपछि सबैतिर बिरोध भइरहेको छ ।








