सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम
काठमाडौं । खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्यसहित सप्ताहव्यापी विश्व खाद्य दिवस २०८३ का कार्यक्रम सुरु भएका छन्। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौंमा विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम सुरु भएका हुन्।
‘इनोभेट टुडे, नरिस टुमोरो’ (आज नवीनता अपनाऔँ, भोलि पोषण सुनिश्चित गरौँ) भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसका कार्यक्रमले जलवायुजन्य विपद्का कारण कृषि, खाद्य प्रणाली, किसानको जीविकोपार्जन तथा समुदायमा परेको प्रभावलाई मुख्य विषय बनाएको छ।
४६औँ विश्व खाद्य दिवसको अवसरमा आइतबार काठमाडौंको बबरमहलस्थित साप फाल्चामा ‘आर्टिभिज्म’ अर्थात् कलामार्फत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिएको छ। सोही स्थानमा पत्रकार सम्मेलनसमेत आयोजना गरी खाद्य सम्प्रभुता, जलवायु न्याय र जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा ध्यानाकर्षण गराइएको छ।
कार्यक्रमअन्तर्गत सोमबार काठमाडौंको वसन्तपुरस्थित शिवपार्वती डबलीमा दिउँसो ४ बजे सडक नाटक प्रस्तुत गरिनेछ। नाटकमार्फत कृषि, खाद्य अधिकार, जलवायु परिवर्तन र किसानका सवाललाई सार्वजनिक बहसमा ल्याउने लक्ष्य राखिएको छ।
त्यसैगरी, असोज २७ गते मंगलबार दिउँसो १ देखि ५ बजेसम्म हरिहरभवनस्थित कृषि विभागमा ‘खाना र खेतीपातीका यक्ष प्रश्नहरू’ शीर्षकमा बहस, नाटक, रचनात्मक प्रस्तुति तथा पोस्टर र कला प्रदर्शनी आयोजना गरिनेछ।
विश्व खाद्य दिवसकै सन्दर्भमा असोज २८ गते एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज) र खाद्यका लागि कृषि अभियानको संयुक्त आयोजनामा बहस कार्यक्रमसमेत आयोजना गरिनेछ। उक्त कार्यक्रममा कृषि तथा खाद्य प्रणालीका चुनौती, जलवायुजन्य विपद्ले किसानको जीविकोपार्जनमा पारेको प्रभाव, खाद्य सम्प्रभुता र जलवायु न्यायका विषयमा छलफल गरिनेछ।
यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज ३० गते विश्व खाद्य दिवसको मुख्य कार्यक्रम आयोजना गर्नेछ। उक्त कार्यक्रममा खाद्यका लागि कृषि अभियानको समेत उपस्थिति रहनेछ।
खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आयोजना भइरहेका यी कार्यक्रमले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका समस्या र खाद्य प्रणालीमा परेका असरबारे जनचेतना अभिवृद्धि गर्नुका साथै किसानका सवाललाई सार्वजनिक बहसमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
विश्व खाद्य दिवस हरेक वर्ष अक्टोबर १६ मा मनाइन्छ। भोकमरी अन्त्य, खाद्य सुरक्षा सुनिश्चितता तथा सबैका लागि पर्याप्त र पोषणयुक्त खानाको पहुँच स्थापित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।









