गोरखाको बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम्चेत क्षेत्रमा आइतबार बिहान आएको आकस्मिक बाढीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा जोखिम बढाएको छ ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली दोभानसम्मका नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ ।
नेपाल प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बूढीगण्डकी नदी थुनिएको थियो । आइतबार बिहान ५ः३० बजे नदी थुनिएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
नदी तटीय क्षेत्रका प्रहरी एकाइ तथा स्थानीय बासिन्दालाई सचेत गराइएको थियो । बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको प्रहरीले जनाएको छ ।
बाढी लेदो र गेग्रानसहित नदीमा मिसिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाट क्षेत्रका बासिन्दा विशेष सतर्क रहनुपर्नेछ ।
बाढी पूर्वानुमान महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ । सोही आधारमा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएसमार्फत सूचना पठाइएको छ ।
महाशाखाले बाढीको बहाव नघटेसम्म नदी किनारमा नजान, सुरक्षित उच्च स्थानमा बस्न र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेको छ ।
नेपाल प्रहरीका अनुसार हालसम्म घटनाबाट भएको अन्य क्षतिको विवरण प्राप्त भएको छैन । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।









