चाडपर्वमा हवाई भाडा बढाउन नपाइने, सस्तोमा टिकट बेच्न वायुसेवा कम्पनी सहमत
काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको भाडा बढेको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ। छलफलपछि वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा कम मूल्यमा समेत टिकट बिक्री गर्ने सहमति गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को सक्रियतामा क्यानले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर छलफल गरेको हो।
छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने र त्यस्तो भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीका बिक्री प्लेटफर्ममै सार्वजनिक गर्ने सहमति भएको क्यानले जनाएको छ।
आन्तरिक हवाई सेवामा न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गरिएको भए पनि चाडपर्वको समयमा यात्रुको चाप बढ्दा वायुसेवा कम्पनी तथा टिकट बिक्री गर्ने एजेन्सीले महँगो भाडा लिने गरेको गुनासो आउने गरेको छ। यही गुनासो सम्बोधन गर्न क्यानले वायुसेवा कम्पनीसँग छलफल गरेको हो।
बुद्ध एयरको धनगढीको टिकट १० हजारमै
यसैबीच, मुलुकको ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले धनगढीका लागि १० हजार रुपैयाँमै टिकट उपलब्ध गराएको जनाएको छ।
बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फोटोसप र एआई प्रयोग गरेर तयार पारिएका भ्रामक स्क्रिनसटमार्फत हवाई भाडासम्बन्धी गलत सूचना फैलाइएको दाबी गरिएको छ।
कम्पनीले न्यूनतम भाडादरमै टिकट उपलब्ध गराइरहेको र त्यसका कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइरहेको जनाएको छ।
बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको अवस्थामा यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न गन्तव्यमा न्यूनतम भाडामा टिकट उपलब्ध गराइएको बुद्ध एयरको भनाइ छ।
कम्पनीले आफ्नो आधिकारिक बिक्री प्रणालीमा कायम भाडादरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने ट्राभल एजेन्सी वा अन्य माध्यम फेला परेमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।









