देशका ७७ जिल्लाका ७५३ पालिकामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुगेर नागरिक, पार्टी सदस्य तथा सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन गर्ने भएका छन् ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुने निर्णय गरेको हो ।
बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति पनि गठन गरेको छ । महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामीलाई सदस्य मनोनित गरिएको छ । सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहनेछन् ।
बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनित गरेको छ ।
प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाल र विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महतो, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दिपक कुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्दलाई प्रमुख तोकिएको छ ।
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग प्रमुखमा डा. धनञ्जय रेग्मी र सदस्यमा सम्राट बुढाथोकी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग प्रमुखमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग प्रमुखमा रिमा विश्वकर्मालाई मनोनित गरिएको छ ।
अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वर कार्की (रोहन) लाई जिम्मेवारी दिइएको छ ।
मधेस प्रदेश संगठनको प्रतिवेदन अध्ययन गरिने:
बैठकले मधेस प्रदेश संगठनमा देखिएका समस्या तथा समाधानका सम्बन्धमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझेको छ ।
कार्यदलले विस्तृत प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाएको र त्यसको अध्ययनपछि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको छ ।
नयाँ केन्द्रीय कार्यालयका लागि जग्गा वा घर खोजिने:
रास्वपाले केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा पार्टीका लागि जग्गा वा घर खरिद गर्ने तयारी गरेको छ ।
बैठकले उपयुक्त जग्गा वा घर खोजीमा सहयोग गर्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ ।
बैठकले नेपालीहरूको नजिकिँदै गरेका महान् चाड विजयादशमी, दीपावली, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्ने निर्णयसमेत गरेको छ ।









