१७ आश्विन २०८३, शनिबार

जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’ (तस्बिरसहित)

प्रकाशित मिति :  3 October, 2026 3:03 pm


काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकले जलवायु न्यायको माग गर्दै सडकमा प्रदर्शन गरेका छन्। बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारका सदस्यहरूले आफूहरूले भोगेको क्षति र पीडाको उचित सम्बोधन हुनुपर्ने माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको असर भने प्रत्यक्ष रूपमा नेपाली समुदायले भोग्नुपरेको बताएका थिए। उनीहरूले बाढीबाट भएको जनधनको क्षतिको उचित मूल्यांकन, प्रभावितको पुनःस्थापना तथा जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले जलवायु परिवर्तनका कारण हुने विपद्को भार स्थानीय समुदायमाथि मात्र नपर्ने गरी जिम्मेवार पक्षबाट क्षतिपूर्ति तथा सहयोगको व्यवस्था गर्नुपर्ने बताएका छन्। उनीहरूले ‘प्रदूषकले तिर्नुपर्छ’ भन्ने मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका छन्।

बाढीले आफन्त गुमाएका परिवारका सदस्यहरूले आफ्ना पीडा र सम्झनालाई शब्दमा व्यक्त गर्दै जलवायु संकटका कारण भएको क्षतिलाई केवल तथ्यांकका रूपमा नहेर्न आग्रह गरेका छन्।

“न आफ्नाको–यसरी आयो, सैतानझैँ आयो।
त्यो अँध्यारो दिन, त्यो ठूलो गर्जन,
शून्यता र बिदाइका शब्दबिनाको बिछोड।

आँगन रित्तो छ, मन भत्केको छ,
भोटेकोशीको सुस्केरामा अझै अल्झिएको छ सम्झना।
लाग्छ, अब सबै सिद्धियो।

तर हेर, यो दियोको मधुरो प्रकाश–
तिमी एक्लो छैनौ।
आँशु अहिले थामिने छैन,
तर भोलिको नयाँ बिहानीसम्म
यो सहर तिम्रो साथमा छ।”

पीडितहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना, सुरक्षित आवास, रोजगारी तथा जीविकोपार्जनका अवसर सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनीहरूले विपद्पछि प्रभावित समुदायको वास्तविक आवश्यकता र स्थानीय अवस्थालाई ध्यानमा राखेर पुनर्निर्माणको नीति बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सरोकारवालाहरूले जलवायु परिवर्तनबाट सिर्जित विपद्को असर कम गर्न दीर्घकालीन नीति तथा योजना आवश्यक रहेको बताएका छन्। उनीहरूले ‘प्रदूषकले तिर्नुपर्छ’ भन्ने मान्यतालाई कार्यान्वयन गर्दै जलवायु नीतिलाई स्थानीय पीडितमैत्री बनाउन सरकारसँग आग्रह गरेका छन्।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !