१७ आश्विन २०८३, शनिबार

हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

प्रकाशित मिति :  3 October, 2026 3:09 pm


मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पुर्‍याएपछि किसानहरू मर्कामा परेका छन् । ऋणधन गरेर निर्माण गरेका टनेल हावाहुरीले उडाएपछि उत्पादन दिने बेलाका गोलभेँडाका बोटसमेत नष्ट हुँदा किसानलाई लगानी कसरी उठाउने भन्ने चिन्ता थपिएको छ ।

मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरका शम्सेर ल्वागुनले तरकारी मण्डीका साहुसँग ५० हजार रुपैयाँ ऋण लिएर टनेलमा गोलभेँडा खेती गरेका थिए । पुख्र्यौली आरन पेसा विस्तारै छाडेर कृषिमा लागेका उनले गत वर्ष चारवटा टनेलबाट करिब डेढ लाख रुपैयाँ आम्दानी गरेका थिए । तर, गत असोज १० गते वर्षासँगै आएको हावाहुरीले उनका तीनवटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ भने एउटामा आंशिक क्षति पुगेको छ ।

उत्पादन दिने बेलामै गोलभेँडाका बोट ढलेपछि ल्वागुनलाई मण्डीबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । हावाहुरीबाट भएको क्षति उनले मात्र होइन, बुढीचौरका अधिकांश किसानले व्यहोर्नुपरेको छ ।

स्थानीय अच्युत घलानको करिब तीन सय मिटरभन्दा लामो टनेलमा क्षति पुगेको छ भने सुजन पुडासैनीले भाडामा लिएको करिब २५ रोपनी जग्गामा लगाएको गोलभेँडा खेतीमा पनि ठूलो क्षति भएको छ । स्थानीय कर्मराज विश्वकर्माका अनुसार वडा नम्बर ८ को बर्गिटार र दम्पकी क्षेत्रका अधिकांश टनेलमा हावाहुरीले क्षति पुर्‍याएको छ ।

हावाले टनेलसँगै गोलभेँडाका बोटसमेत ढालेपछि किसानले लगानी त परै जाओस्, आफ्नो श्रमको ज्यालासमेत उठाउन नसक्ने अवस्था आएको विश्वकर्माले बताए । क्षतिग्रस्त टनेल मर्मत गर्नुपर्ने र बालीमा रोग लाग्न नदिन थप औषधि उपचार गर्नुपर्ने भएकाले किसानमाथि दोहोरो आर्थिक भार थपिएको छ ।

वडा कार्यालयले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म ३५ घरधुरीको करिब ७ हजार मिटर टनेलमा लगाइएको गोलभेँडा खेतीमा क्षति पुगेको छ । राम्रो उत्पादन हुने सिजनमा दैनिक चार सयदेखि ६ सय क्रेटसम्म गोलभेँडा बजारमा पठाउँदै आएको बुढीचौरमा यस वर्ष ७० टनभन्दा बढी उत्पादन घट्ने अनुमान गरिएको छ ।

वडा कार्यालयमा क्षतिको विवरण लिएर आउने पीडित किसानको संख्या बढ्दै गएकाले क्षतिको विवरण र नोक्सानीको परिमाण अझै बढ्न सक्ने देखिएको छ ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !