विश्व स्कुल दूध दिवस : बाल पोषणसँगै किसान र दुग्ध क्षेत्रको भविष्य जोड्ने अभियान
काठमाडौं । नेपाल डेरी एसोसिएसनले बालबालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दुग्ध क्षेत्रको दिगो विकासका लागि राष्ट्रिय विद्यालय दूध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएको छ।
विश्व स्कुल दूध दिवस २०८३ को अवसरमा एसोसिएसनले विद्यालय दूध कार्यक्रमलाई बालबालिकालाई दूध सेवन गराउने कार्यक्रमका रूपमा मात्र नभई पोषण शिक्षा, स्वस्थ खानपान, किसानको उत्पादनको बजार र दुग्ध उद्योगको विकाससँग जोड्नुपर्नेमा जोड दिएको हो।
हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस यस वर्ष सेप्टेम्बर ३० अर्थात् २०८३ असोज १४ गते बुधबार मनाइँदैछ। यस वर्ष “बलियो हड्डी, बलियो शरीर; खेलकुद र विकासका लागि दूध अमूल्य आधार” भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ।
सन् २००० देखि मनाउन थालिएको यो दिवस विद्यालयमा दूधको महत्त्वबारे जनचेतना अभिवृद्धि तथा विद्यालय दूध कार्यक्रम प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसहित मनाइन्छ।
एसोसिएसनका अनुसार दूध तथा दुग्धजन्य पदार्थ प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ लगायतका पोषक तत्त्वका स्रोत भएकाले बालबालिकाको सन्तुलित आहारको महत्वपूर्ण हिस्सा बन्न सक्छन्।
विद्यालय तहदेखि नै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, सुरक्षित तथा गुणस्तरीय दूधको सेवन र स्वस्थ खानपानबारे विद्यार्थी तथा अभिभावकमा सचेतना बढाउन आवश्यक रहेको एसोसिएसनले जनाएको छ।
नेपालजस्तो कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्र भएको मुलुकमा विद्यालय दूध कार्यक्रमलाई किसान, दुग्ध सहकारी, दूध संकलन केन्द्र, डेरी उद्योग र विद्यालयलाई एउटै मूल्य शृंखलामा जोड्ने माध्यमका रूपमा विकास गर्न सकिने एसोसिएसनको भनाइ छ।
विद्यालयमा दूधको माग विस्तार हुँदा किसानले उत्पादन गरेको दूधको बजार बढ्नुका साथै स्थानीय दुग्ध उद्योग, रोजगारी र आर्थिक गतिविधिमा समेत योगदान पुग्न सक्ने बताइएको छ।
एसोसिएसनले संघीय, प्रदेश तथा स्थानीय सरकार, विद्यालय, किसान, दुग्ध सहकारी, डेरी उद्योग, शिक्षक, अभिभावक तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य गरी राष्ट्रिय विद्यालय दूध कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।
आवश्यक नीति, मापदण्ड, बजेट, गुणस्तर तथा अनुगमनको व्यवस्था गरी कार्यक्रमलाई नियमित र दिगो रूपमा सञ्चालन गर्नुपर्ने एसोसिएसनको माग छ।
विश्व स्कुल दूध दिवसका अवसरमा नेपाल डेरी एसोसिएसन केन्द्रीय समिति र बागमती प्रदेशको संयुक्त आयोजनामा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदैछ। राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब डेरी इन्टरप्रेनर्सको सहकार्य रहनेछ।
एसोसिएसनले दिवसलाई एक दिन दूध सेवन गराउने कार्यक्रममा सीमित नराखी बाल पोषण, किसानको उत्पादनको बजार, स्वदेशी दुग्ध उद्योगको प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्रलाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउन सबै सरोकारवालासँग सहकार्यका लागि आग्रह गरेको छ।









