१३ आश्विन २०८३, मंगलबार

मन्त्रिपरिषद् बैठकका ६ निर्णय : स्वास्थ्य सुधारदेखि निजामती सेवा विधेयकसम्म

प्रकाशित मिति :  29 September, 2026 10:38 pm


मन्त्रिपरिषद् बैठकका ६ निर्णय : स्वास्थ्य सुधारदेखि निजामती सेवा विधेयकसम्म

काठमाडौं। सरकारले पशु वधशाला तथा मासु जाँच, संघीय निजामती सेवा र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी तीन विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गते बसेको बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक, संघीय निजामती सेवासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको हो।

बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक खण्ड, गजार्ड खोला साना जलविद्युत आयोजना र ४० मेगावाट क्षमताको बलेफी खोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको छ।

सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोष्ट निर्माणका लागि पनि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा र डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ।



प्रतिक्रिया दिनुहोस !