जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ आयोजना
काठमाडौं, १३ असोज। स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोह आयोजना गरिएको छ।
श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिका अवसरमा बसन्त चौधरी फाउन्डेसन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रमको सुरुवात जनकवि श्रेष्ठको सम्झनामा अक्षरदीप प्रज्वलन, पुष्पार्पण र मौनधारणबाट गरिएको थियो। त्यस अवसरमा श्रेष्ठको जीवन र साहित्यिक यात्रामा आधारित वृत्तचित्र ‘अक्षरयात्रा : दशक आठ’ प्रस्तुत गरिएको थियो।
कार्यक्रममा ‘६ नवकृति : अक्षरका छ नयाँ दीप’ अन्तर्गत छवटा कृतिको श्रव्यदृश्य अनावरण तथा समीक्षा गरिएको थियो। साथै जनकवि श्रेष्ठका कविता वाचन तथा प्रस्तुति गरिनुका साथै ‘अक्षरमहर्षि सम्मान’ अर्पण गरिएको थियो। कवि बसन्त चौधरीले अक्षराञ्जली, स्मृतिका कथन तथा रुबाई प्रस्तुत गरेका थिए।
‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्ता लोकप्रिय गीतका सर्जक श्रेष्ठ नेपाली र नेपाल भाषा साहित्यका विशिष्ट व्यक्तित्व थिए। उहाँका कविता र गीतले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
विसं १९९२ मा काठमाडौंमा जन्मिएका श्रेष्ठले सन् १९४९ देखि लेखनयात्रा सुरु गरेका थिए। उनको पहिलो कविता ‘दुइथोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो। उनका छ दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
नेपाल भाषा परिषद्ले सन् २००३ मा श्रेष्ठलाई जनकविको उपाधि प्रदान गरेको थियो। त्यसैगरी, मदन पुरस्कार गुठीले विसं २०६७ मा उनलाई जगदम्बाश्री सम्मान प्रदान गरेको थियो। उनले साहित्य क्षेत्रमा पुर्याएको योगदानका लागि दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए।
श्रेष्ठको साउन ३१ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो।


















