नामियाद्वारा भोटेकोशी बाढीपीडितका लागि दोस्रो चरणको सहयोग
काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा थप १ लाख १६ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि संघले दोस्रो चरणमा उक्त रकम सहयोग गरेको हो । यसअघि संघले पहिलो चरणमा ५ लाख ११ हजार २३८ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
संघका महासचिव अर्जुन लुइँटेलका अनुसार विपद्को समयमा सदस्यहरूबाट स्वस्फूर्त रूपमा संकलित रकममध्ये पहिलो चरणको सहयोगपछि थप रकम पनि संकलन गरी कोषमा जम्मा गरिएको हो । उनले राहत तथा सहयोग अभियानलाई निरन्तरता दिइने बताए ।
संघका अध्यक्ष कृष्ण शर्माले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना स्थानीय सदस्यहरूलाई उद्धार तथा राहतमा प्रत्यक्ष रूपमा सहभागी हुन आग्रह गरिएको बताए । उनका अनुसार सदस्यहरू स्थानीयस्तरमा उद्धार तथा राहत टोलीसँग समन्वय गरी सहयोगमा जुटिरहेका छन् ।
चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ नेपालमा कृषि यन्त्र तथा प्रविधि व्यवसायमा संलग्न व्यवसायीहरूको छाता संगठन हो।









