नयाँ रू १००० को बैंक नोट आजदेखि चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रूपैयाँ १००० दरको नयाँ बैंक नोट विहीबारदेखि चलनचल्तीमा ल्याएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्दै नयाँ बैंक नोट जारी भएको बताएको हो ।
नोटको अगाडी भागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप छ र सोको मुनि ‘१०००’ ङ्कित पानीछाप पनि रहेको छ।
दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सजिलो होस् भनी नोटको दायाँतर्फको तल्लो भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘M’ राखिएको छ। साथै सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखाहरू छन्।
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र रहेको छ। नोटमा ३.५ मि.मी.चौडाइको, सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने, चलायमान विशेषता भएको सुरक्षण धागोमा ‘NRB’ र ‘१०००’ अङ्कित छ। नोटको तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ लेखिएको छ।
नोटको पछाडीको भागको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तीहरूमध्ये देवकली भनेर चिनिने हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण जुम्ल्याहा दुईवटा हात्तीको चित्र छ, र सोको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ।
बायाँतर्फको पानीछापको दायाँतर्फ नेपालका सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसको चित्र प्रयोग गरिएको छ। दायाँतर्फ ’RUPEES ONE THOUSAND’ लेखिएको छ र हनुमान ढोकास्थित ल्हौंचोकमा रहेको ऐतिहासिक महत्त्व बोकेको थामको आकृति छ। नोटको तल्लो भागको बोर्डरमा ‘2025 AD’ लेखिएको छ।
यसअघि मिति २०७७ साल साउन ७ गतेदेखि रूपैयाँ १००० दरको बैंक नोट (सिरिज २०७६) सङ्केत नम्बर ज-६८ ०००००१ देखि ट-१०० ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने सूचना प्रकाशित गरिएको थियो। तर सङ्केत नम्बर ज-६८ ०००००१ देखि ट-९१ ४४०००० सम्म मात्र चलनचल्तीमा आएको हुँदा रूपैयाँ १००० दरको (सिरिज २०२५) को बैंकनोट सङ्केत नम्बर ट-९२ ०००००१ बाट प्रारम्भ गरिएको जनाएको छ।









