त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधनपछि कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु)
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मकवानपुरका अर्जुन दोङको उपचारका क्रममा निधन भएको छ । घटनापछि आक्रोशित मृतकका परिवार र समर्थकहरूले कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा भेला भई निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भएका अर्जुन दोङले सोमवार त्रिपुरेश्वरमा आफैँले चलाएको बसभित्रै आत्मदाहको प्रयास गरेका थिए । ट्राफिक प्रहरीसँग भनाभन भएपछि उनले आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते अवस्थामा उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
दोङको उपचारकै क्रममा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । दोङको मृत्युको खबर सार्वजनिक भएसँगै उनका आफन्त र समर्थकहरू अस्पताल परिसरमा जम्मा भएका छन् । उनीहरूले आत्मदाहजस्तो हृदयविदारक घटनाका लागि जिम्मेवार पक्षमाथि कानूनी कारबाही हुनुपर्ने र घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले पीडित परिवारका लागि उचित क्षतिपूर्ति र दोषीलाई अविलम्व न्यायको कठघरामा उभ्याउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । हाल अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मृतकका परिवार र स्थानीय प्रशासनबीच संवादको प्रयास भइरहेको छ । तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल














