लुम्बिनीमा १७औं विश्व शान्ति मञ्च सुरु
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारदेखि १७औं विश्व शान्ति मञ्च (वल्र्ड पिस फोरम) औपचारिक रूपमा सुरु भएको छ ।
‘२१औं शताब्दीमा शान्तिको पुनर्कल्पना’ भन्ने मूल विषयसहित आयोजित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनले विश्व शान्ति, जलवायु न्याय, दिगो विकास र पर्यटन प्रवर्धनका मुद्दामा व्यापक छलफल गर्नेछ ।
दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको यो प्रतिष्ठित मञ्च लुम्बिनी विश्व शान्ति मञ्च र लक्जम्बर्गस्थित सेन्जेन पिस फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ । कार्यक्रम बुधबारसम्म चल्नेछ ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै वक्ताहरूले विश्व समुदायले सामना गरिरहेका द्वन्द्व, जलवायु सङ्कट र बढ्दो असमानताबीच शान्तिको अवधारणालाई नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले भगवान बुद्धको जन्मभूमि लुम्बिनीले विश्वलाई शान्ति, सहअस्तित्व र मानवतावादको सन्देश दिन सक्ने उपयुक्त स्थल भएको बताएका छन्।
लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक तथा अध्यक्ष वासुदेव गौतमले विश्वका विभिन्न मुलुकका नीति निर्माता, अनुसन्धानकर्ता, पर्यटन विज्ञ र शान्ति अभियन्तालाई लुम्बिनीमा एकै मंचमा ल्याउनु सम्मेलनको मुख्य उपलब्धि भएको बताए । उनका अनुसार सम्मेलनले विश्व शान्ति र दिगो विकाससँग सम्बन्धित विषयमा साझा अवधारणा निर्माण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा इन्टरनेसनल सेन्जेन पिस फाउन्डेसन का अध्यक्ष विक्की हानसेन, इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (अस्ट्रेलिया) का संस्थापक तथा कार्यकारी अध्यक्ष स्टिभ केले एएम, भुटान पर्यटन परिषद्का निर्देशक दाशो दोर्जी धादुल, जर्मनीका पर्यटन तथा शान्ति अध्ययनविद् डा. वोल्फगाङ जर्ज आल्र्ट लगायत अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
यस्तै, अन्तरव्यवस्थापकीय सङ्घका महासचिव मार्टिन चुङगोङले जेनेभाबाट भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका प्रदेश योजना सचिव खिमबहादुर कुँवर, लुम्बिनी सांस्कृतिक नगरपालिका का कार्यवाहक प्रमुख कल्पना हरिजन तथा लुम्बिनी–कपिलवस्तु विश्व अभियान बेल्जियम का अध्यक्ष डा. राजेन्द्र बारी सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्मेलनमा जलवायु न्याय, दिगो विकास र दिगो पर्यटन सम्बन्धी विषयमा विभिन्न सत्रमार्फत गहन छलफल हुने छ। आयोजकका अनुसार जलवायु परिवर्तनका चुनौतीबीच पर्यटन क्षेत्रलाई कसरी दिगो र समावेशी बनाउन सकिन्छ भन्ने विषय पनि प्रमुख एजेन्डाका रूपमा रहेको छ।
आयोजकहरूले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीलाई विश्वव्यापी शान्ति केन्द्रका रूपमा स्थापित गर्न तथा धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सफल बनाउन लुम्बिनी–कपिलवस्तु विश्व अभियान का नर्वे, पोल्याण्ड, स्वीडेन, बेल्जियम र अस्ट्रेलिया शाखाहरूले समेत सहकार्य गरेका छन् । सम्मेलनबाट जलवायु परिवर्तन, विश्व शान्ति र दिगो पर्यटनका विषयमा ठोस निष्कर्ष तथा साझा प्रतिबद्धता सार्वजनिक हुने अपेक्षा गरिएको छ ।









