रसुवामा जोखिमयुक्त बस्ती हटाएर सुविधासम्पन्न ‘टाउनसिप’ बनाइने
काठमाडौँ । सरकारले बाढीबाट प्रभावित रसुवाका बस्तीलाई पुरानै स्थानमा पुनर्स्थापना गर्नुको सट्टा सुरक्षित स्थानमा एकीकृत ‘टाउनसिप’ विकास गर्ने योजना अघि सारेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सोमबार पूर्वाधार विकास समितिको बैठकमा जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई नजिकैको सुरक्षित क्षेत्रमा स्थानान्तरण गरी अस्पताल, विद्यालय, उद्योगलगायतका पूर्वाधारसहित व्यवस्थित नयाँ बस्ती निर्माण गर्ने योजना रहेको बताए।
मन्त्री लम्सालका अनुसार पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण गठन नगरी विद्यमान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप अधिकारसम्पन्न बनाइने तयारी छ।
स्थानीय तहलाई आवश्यक स्रोत र कानुनी आधार उपलब्ध गराउनसमेत सरकारले तयारी गरिरहेको उनले बताए। यसका लागि आवश्यक कानुनी संशोधनसहितको विधेयक छिट्टै संसदमा पेश गर्ने सरकारको तयारी छ।
सडक, खानेपानी र अन्य पूर्वाधारको पुनर्निर्माण भने सम्बन्धित क्षेत्रगत निकायमार्फत अघि बढाइने मन्त्री लम्सालले जानकारी दिए।









