मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर, चालक र मजदुरको अवस्थाबारे जानकारी गराएको छ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ, महासचिव बद्रीप्रसाद चौलागाईं, नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटालगायतको टोलीले सोमबार पूर्वाधार विकास मन्त्रालयमा मन्त्री लम्सालसँग भेट गरेको हो। भेटका क्रममा ढुवानी व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष विश्वनाथ खनाल, वरिष्ठ उपाध्यक्ष अच्युतराज खनाल, नेपाल सडक बोर्डका कार्यकारी सदस्यसमेत रहेका महासंघका उपाध्यक्ष अरुण श्रेष्ठ तथा सह-कोषाध्यक्ष टेकराज पोखरेल लगायत उपस्थिति थियो।
भदौ १० गते रसुवाको टिमुरेमा आएको भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी गराउँदै महासंघले बाढीपछि विभिन्न निकायसँग समन्वय गरी हराएका सवारीसाधन तथा चालक र मजदुरको विवरण संकलन गरिएको जनाएको छ।
भेटमा महासंघले बाढीबाट यातायात व्यवसायी तथा मजदुरमा परेको मानवीय र भौतिक क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको थियो। हराएका सवारीसाधनको खोजी, क्षतिको विवरण संकलन तथा प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो।
यातायात क्षेत्रमा बाढीबाट भएको क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा रायसहितको प्रतिवेदन तयार गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
त्यस्तै, यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन तथा कानुनमा आवश्यक परिमार्जन गरी समस्या समाधानका लागि सिफारिस गर्न पूर्वाधार विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। उक्त समितिले ४५ दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्नेछ।
भेटका क्रममा महासंघले भोटेकोसी बाढीपीडितका लागि महासंघ तथा सदस्य संस्थाहरूबाट संकलित १० लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा हस्तान्तरण गर्ने जानकारीसमेत गराएको छ। महासंघले उक्त रकम हस्तान्तरणका लागि समय उपलब्ध गराइदिन मन्त्रीसँग आग्रह गरेको छ।
महासंघका अध्यक्ष बानियाँले बाढीबाट ट्रक तथा कन्टेनर व्यवसायीले ठूलो क्षति व्यहोरेको भन्दै हराएका सवारीसाधन तथा चालक र मजदुरको अवस्थाबारे यथार्थ विवरण सार्वजनिक गर्न र प्रभावित व्यवसायीलाई राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने बताए।
महासंघका महासचिव चौलागाईंले बाढीपछि महासंघले विभिन्न निकायसँग समन्वय गरी हराएका ट्रक, कन्टेनर तथा चालक र मजदुरको विवरण संकलन गरिरहेको बताए। उनले यातायात क्षेत्रको क्षतिको उचित मूल्याङ्कन गरी राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष सापकोटाले पनि बाढीबाट कन्टेनर तथा ढुवानी व्यवसायमा परेको क्षतिबारे मन्त्री लम्साललाई जानकारी गराउँदै प्रभावित व्यवसायीको समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरे।
मन्त्री लम्सालले महासंघ र सदस्य संस्थाहरूले बाढीपीडितका लागि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यातायात क्षेत्रमा भएको क्षतिको यथार्थ विवरणका आधारमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।









