२९ भदौ २०८३, सोमबार

बाल दिवसमा भोटेकोशी प्रभावित क्षेत्रबाट भोलेन्टियरको सन्देश, ‘बालबालिकाको मुस्कान फर्काउन हामी निरन्तर लागिरहेका छौँ’

प्रकाशित मिति :  14 September, 2026 6:45 pm


काठमाडौँ ।

राष्ट्रिय बाल दिवसका अवसरमा सन्देश जारी गर्दै गोल्यान ग्रुपकी कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन प्रमुख तथा गोल्यान फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैरेले विपद्का कारण बालबालिकाले भोग्नुपरेको त्रास र असुरक्षाको अवस्थामा उनीहरूको बालापन र खुसी जोगाउनु सबैको जिम्मेवारी भएको बताएकी छिन् ।

“कुनै पनि बालबालिकाले आजको सानो काँधमा भोलिको अनिश्चितताको बोझ बोक्नु नपरोस्। त्यो बोझ उनीहरूको होइन, हाम्रो हो,” उनले भनेकी छन्।

फाउण्डेशनले बाढी प्रभावित क्षेत्र विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा होल्डिङ सेन्टर व्यवस्थापनका साथै भोजन, स्वास्थ्य उपचार, मनोपरामर्शलगायत सेवा दिइरहेको छ ।

होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका समेत गरि दैनिक करिब ४ सय जनालाई होल्डिङ सेन्टरमा दैनिक तीनपटक खाना–खाजाको प्रवन्ध गरिएको छ । भोजनका अतिरिक्त सामान्य स्वास्थ्य सेवा र बालमनोपरामर्श सेवा प्रदान गरिएको छ ।

बाढीले घर तथा सुरक्षित वातावरण गुमाएका बालबालिकाको जीवनमा डर र मौनता छाएको उल्लेख गर्दै उनले संकटका बेला बालबालिकालाई केही समय भए पनि सामान्य बालजीवनमा फर्काउने प्रयास गरिएको बताएकी छन्।

होल्डिङ सेन्टरमा करिब ४० जना बालबालिकासमेत रहेका छन् । उनीहरुको लागि खेल सामग्रीका साथै बालमनोपरामर्शको काम पनि भइरहेको छ ।

“हामी खाना र आश्रय उपलब्ध गराउन आएका थियौँ, तर यहाँ आएपछि बालबालिकाको निर्दोषिता र उनीहरूको सुरक्षित संसारप्रतिको विश्वास जोगाउनु पनि उत्तिकै महत्वपूर्ण रहेछ भन्ने महसुस भयो,” गैरेले भनेकी छन्।

उनका अनुसार बालबालिकासँग कथा सुनाउने, साना खेल खेल्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने गतिविधिले उनीहरूमा खुसी फर्काउन सहयोग गरेको छ। दिनको केही घण्टा भए पनि बालबालिकाले बाढीले दिएको पीडा बिर्सिएर फेरि बालबालिकाकै रूपमा रमाउन पाएको उनले बताएकी छन्।

“एउटा खेल, एउटा कथा वा हाँस्ने एउटा कारण दिन सकियो भने बालबालिकाले हामी वयस्कले बिर्सिसकेको कुरा सिकाउँछन्—खुसी आँधीबेहरी सकिएपछि मात्र आउने होइन, कठिन परिस्थितिमा पनि त्यसले आफ्नो ठाउँ बनाउँछ,” गैरेले भनेकी छन्।

उनले विपद्को समयमा बालबालिकालाई खेल्न, हाँस्न, सपना देख्न र आफ्नो बालापन उपभोग गर्न पाउने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बताएकी छन्।

“यो संकटमा धेरै कुरा गुमेका छन्। तर बालबालिकाको हाँसो फर्किएको देख्नु हामीले भेटेको सबैभन्दा सुन्दर कुरा हो। यसले जीवन अघि बढ्छ, खुसी बाँच्छ र आशाको संरक्षण गर्नुपर्छ भन्ने सम्झाउँछ,” उनले भनेकी छन्।

गोल्याण फाउन्डेसनले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

फाउण्डेशनकाे टिम घटनाकै दिन भदौ १० गते बाढी प्रभावित क्षेत्र पुगेकाे थियाे । घरबारविहीन नागरिकलाई भोजनको व्यवस्था गर्नेदेखि स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, होल्डिङ सेन्टर व्यवस्थापनलगायतका काममा निरन्तर लागिरहेको छ । स्वयंसेवी समूहमा अहिले ५० जना छन् ।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याण विपत्तिको बेला प्रभावित नागरिकलाई साथ र सहयोग दिनुपर्छ भन्ने मान्यताका साथ बाढी गएको दिनमै राहत तथा सहयोग योजना बनाइएको बताए ।



प्रतिक्रिया दिनुहोस !