प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, तीन विधेयक कार्यसूचीमा
काठमाडौँ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै सदनका बैठकमा विभिन्न विधेयक अघि बढाउनेदेखि मन्त्रीसँग प्रश्नोत्तर गर्नेसम्मका कार्यक्रम कार्यसूचीमा छन्।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनेछन्।
त्यसपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पनि कार्यसूचीमा छ। प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक अघि बढाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यता राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम छ।
राष्ट्रियसभामा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ पारित गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
यससँगै आजै कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठकसमेत बस्नेछन्।
दुवै सदनका आजका कार्यसूची हेर्दा बालबालिका, राष्ट्रिय सेवा दल र पशु रोग नियन्त्रणसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढाउने विषय मुख्य एजेन्डामा देखिन्छ।









