६ आश्विन २०८३, मंगलबार

काठमाडौँको त्रिपुरेश्वरमा बस आगलागीमा घाइते भएका चालकको मृत्यु

प्रकाशित मिति :  22 September, 2026 10:21 am


काठमाडौँ । त्रिपुरेश्वरमा बसमा आगो लगाएपछि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति मृत्यु भएको हो।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बस चालकले ट्राफिक प्रहरीसँग विवाद भएपछि बसमा आगजनी गरेका थिए। सोमबार मध्यान्ह त्रिपुरेश्वर चोकमा चालक र ट्राफिक प्रहरीबीच भएको विवादको भिडिओसमेत सार्वजनिक भएको छ। उक्त भिडिओमा चालकले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै ट्राफिक प्रहरीले चिट काट्न खोजेको भन्दै आक्रोश व्यक्त गरेको देखिन्छ।

विवादपछि चालकले बसमा आगो लगाएका थिए। आगलागीका क्रममा उनी स्वयं गम्भीर घाइते भएका थिए। प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएको थियो।

घटनाको वास्तविक कारण र परिस्थितिबारे अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले घटनासम्बन्धी थप विवरण अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !