पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात बन्द
प्रकाशित मिति : 25 September, 2026 9:12 am
काठमाडौँ । लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
धादिङको कृष्णभीरलगायतका क्षेत्रमा पहिरो खसेको तथा धारापानीमा सडक भासिएको जिल्ला प्रशासन कार्यालयले धादिङको जनाएको छ। यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा पनि पहिरो गएपछि यातायात बन्द गरिएको छ।
मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएपछि थप जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म सडक बन्द गरिएको हो।
प्रशासनले जोखिमयुक्त अवस्थामा यात्रा नगर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।









