नवलपुरमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको छ। मृतक एक पुरुषको पहिचान हुन बाँकी छ ।
बस सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ । बसमा चालकसहित १८ जना रहेका थिए । दुई जना सकुशल रहेको प्रहरीको भनाई छ ।
घाइते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती थारू छन् ।
यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम घाइते भएका छन् ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी पनि घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।









