१२ आश्विन २०८३, सोमबार

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

प्रकाशित मिति :  28 September, 2026 10:13 am


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ ।
फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेसँगै पोखराका पर्यटन व्यवसायीहरूमा पुनः आशाको किरण देखिएको हो । जसले लामो समयदेखिको व्यावसायिक शुन्यता अन्त्य हुने अपेक्षा जगाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएयता व्यावसायिक रूपमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । विगतमा हिमालय एयरलाइन्सले पोखरा—ल्हासा उडानको प्रयास गरे पनि यात्रु अभावका कारण सो सेवा निरन्तर हुन सकेन । जसका कारण विमानस्थलको पूर्ण उपयोगमाथि प्रश्न उठ्दै आएको थियो ।

यद्यपि, पछिल्लो समय फ्लाई दुबईको जहाजको अवतरणले पर्यटन क्षेत्रलाई थप उत्साहित बनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलकाअनुसार नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्वका पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष जोड्ने र यहाँको अर्थतन्त्रमा समेत टेवा पु¥याउने निश्चित छ । उनले उडान नियमित हुनु नै पोखराको पर्यटनको मेरुदण्ड भएको बताए ।

पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने उद्देश्यसहित निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको जहाज अवतरण भएसँगै स्थानीय व्यवसायी तथा नागरिकमा उत्साह छाएको छ । भुजेलले फ्लाई दुबईको यस ऐतिहासिक आगमनले पोखराको पर्यटन विकासमा नयाँ कोशेढुङ्गा सावित गरेको प्रतिक्रिया दिए ।

उनकाअनुसार फ्लाई दुबई विश्वका २५० भन्दा बढी अन्तर्राष्ट्रिय शहरहरूसँग जोडिएको एयरलाइन्स भएकाले यसले पोखरालाई सिधै विश्वबजारसँग जोड्ने बलियो आधार खडा गरेको छ । यो उडान पोखरा र गण्डकी प्रदेशका लागि मात्र नभई सातवटै प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण हुने भुजेलले बताए। यद्यपि, अन्तर्राष्ट्रिय उडान शुरु हुनु जत्तिकै यसको निरन्तरता र दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको व्यवसायीहरूको बुझाइ छ ।

अध्यक्ष भुजेलले अन्तर्राष्ट्रिय उडानहरूलाई सफल र नियमित बनाउन स्थानीय, प्रदेश र संघीय सरकारसहित राजनीतिक दल, निजी क्षेत्र र सम्पूर्ण सरोकारवाला निकायहरूको साझा सहकार्य आवश्यक रहेको औँल्याए । उडानको दिगोपन सुनिश्चित गर्नसके यसले नेपालको उड्डयन र पर्यटन क्षेत्रमा सुनौलो इतिहास रच्ने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले उडानको सम्भावनालाई मूर्त रूप दिन विदेशमा आधारित प्रवद्र्धनात्मक अभियानको खाँचो औंल्याए । उनले ‘जाऊँ है पोखरा’ अभियानलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै पोखराको पर्यटन विकासका लागि पर्यटन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सहकार्य गर्न आह्वान गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमता र दिगो रूपमा सञ्चालन गर्न विश्वभर छरिएर रहेका नेपाली तथा सरोकारवालाहरूले कम्तीमा तीन महिना हातेमालो गर्नुपर्ने पोखरेलले बताए । अन्तर्राष्ट्रिय उडानले पर्यटकको बसाइ लम्ब्याउन र आगमन बढाउन प्रत्यक्ष योगदान पु¥याउने उल्लेख गर्दै उनले पोखराबाटै यात्रा गरिदिन सबैमा अपिल गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्र, सञ्चारमाध्यम तथा विश्वभर रहेका नेपाली समुदायको साझा प्रयास आवश्यक रहेको बताए । उनकाअनुसार पोखरामा सिधै अवतरण गर्ने वातावरण बन्दा पर्यटकहरूको बसाइ अवधि बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुनेछ ।

पर्यटन व्यवसायी गोपी भट्टराईले नियमित उडान शुरु भएमा होटल, यातायात र समग्र पर्यटन व्यवसायले नयाँ जीवन पाउने विश्वास व्यक्त गरे । लामो समयदेखिको प्रतीक्षापछि पोखरामा सुरु भएको फ्लाई दुबईको नियमित उडानले पश्चिमाञ्चल क्षेत्रको समृद्धिको ढोका खोलेको छ । पर्यटन व्यवसायी भट्टराईकाअनुसार दुबई विश्वकै एक प्रमुख ट्रान्जिट हब भएकाले यो उडानमार्फत पोखरा सिधै विश्वका २४० भन्दा बढी सहरहरूसँग जोडिएको छ । पछिल्लो समय विमानस्थलको धावनमार्ग र क्षमताका विषयमा फैलिएका आशङ्काहरू यस उडानले पूर्णरूपमा मेटाएको छ ।

दशैँ, तिहार र नयाँ वर्षजस्ता चाडपर्वको मुखैमा शुरु भएको यो उडानले यात्रुहरूको चापलाई समेत सम्बोधन गर्नेछ । काठमाडौँको तुलनामा पोखराबाट पाँच हजार रुपैयाँ सस्तो दरमा उडान सुविधा उपलब्ध गराइनुले पनि यसको लोकप्रियता बढ्ने देखिन्छ । भट्टराईकाअनुसार यो उडानका लागि विगत एक वर्षदेखि निरन्तर गृहकार्य भइरहेको थियो । अबका दिनमा श्रम स्वीकृतिलगायतका प्राविधिक प्रक्रियाहरू पोखराबाटै सहज बनाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । यो शुरुवातसँगै एयर अरेबिया, इमिरेट्स र इन्डिगोलगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पनि पोखरामा उडानको तयारी थालिसकेको दाबी गरिएको छ ।

सरोकारवालाहरूकाअनुसार अबको मुख्य चुनौती भनेको उडानलाई केवल चार्टर्डमा मात्र सीमित नराखी नियमित व्यावसायिक तालिकामा कसरी लैजाने भन्ने नै हो । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !