चाडपर्वमा यात्रु ठगिन नदिन प्रमुख नाकामा सहायता कक्ष राखिने
काठमाडौँ । नेपाल प्रहरीले आगामी चाडपर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। यात्रु ठगी, टिकटमा कालोबजारी तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालन गर्न लागिएको हो।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुनिलजंग शाहले सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहने जानकारी दिए। भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने प्रस्ताव गरिएको उनले बताए।
सहायता कक्षमा विभिन्न गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ। टिकट काट्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य गर्ने र बढी भाडा असुल्ने, टिकटबिना यात्रु बोक्ने तथा एउटै सिटको टिकट धेरै जनालाई बिक्री गर्ने जस्ता गतिविधिमाथि निगरानी बढाइने प्रहरीले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि एउटै रुटमा नियमित चल्ने चालकलाई सोही गन्तव्यको सवारीमा प्राथमिकता दिनुपर्ने डीएसपी शाहको सुझाव छ। उनका अनुसार अपरिचित रुटमा चालक खटाउँदा सडकको अवस्था र जोखिमयुक्त स्थानबारे जानकारी नहुँदा दुर्घटनाको जोखिम बढ्न सक्छ।
दशैंका बेला बढी सवारी चाप हुने कलंकी–नागढुंगा सडकखण्डमा प्रहरीले विशेष ट्राफिक व्यवस्थापन गर्ने भएको छ। चाडपर्वको चार दिनअघिदेखि बढ्ने सवारी चापलाई व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरिने प्रहरीले जनाएको छ।









