मध्यरातमा के खाएपछि सरकारलाई जोश आउँछ? : प्रमुख सचेतक दुलाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले “के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ ?” भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा जारी बाढीपहिरोको विपत्ति र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातमा भएको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका हुन् ।
सांसद दुलालले पछिल्लो चार दिनदेखि देशका विभिन्न भागमा अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्था गर्न माग गरे ।
सरकारले विपत्तिको समयमा नागरिकलाई राहत दिनुको साटो अन्यत्र केन्द्रित भएको आरोप लगाउँदै उनले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।
उनले पक्राउ पुर्जीबिना मध्यरातमा गरिएको गिरफ्तारीलाई “गैरकानूनी राज्यको दृष्टान्त” र “अराजकता” को संज्ञा दिए ।
दुलालले भने, “हामी कानूनी राज्यमा छौँ कि अराजकताको बाटोमा? यो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन । खाएपछि मध्यरातमा जोश र मध्याह्नमा होस आउँछ ? सरकारले यसको जवाफ दिनुपर्छ ।”
सुरक्षा थ्रेटको बहानामा गरिएको गिरफ्तारी र १२ घण्टा नबित्दै भएको रिहाइलाई उनले सरकारको “बहुलाठीपूर्ण पागलपन” भन्दै टिप्पणी गरे । विगतमा पूर्वप्रधानमन्त्री र अहिले पूर्वप्रधानन्यायाधीशलाई गरिएको व्यवहारले कानूनी राज्यको उपहास भएको उनको दाबी थियो ।
उनले सरकारलाई संवैधानिक र कानूनी बाटोबाट देश सञ्चालन गर्न पुनः सचेत गराए ।
–न्युज एजेन्सी नेपाल









