१७ आश्विन २०८३, शनिबार

काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी

प्रकाशित मिति :  3 October, 2026 10:55 pm


काठमाडौं । काठमाडौं क्लाइमेट विक–२०२६ को दोस्रो दिन जलवायु न्याय, हानि तथा क्षति, जलवायु उत्थानशीलता, दिगोपन, कृषि, प्रविधि, जलवायु वित्त तथा निजी क्षेत्रको भूमिकालगायत विषयमा २० भन्दा बढी सत्र सम्पन्न भएका छन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आयोजित प्यानल छलफल, अन्तरक्रिया तथा ज्ञान साझेदारीका सत्रमा १ सयभन्दा बढी विषयगत विज्ञ, अभियन्ता, अनुसन्धानकर्ता, युवा, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाले वक्ता तथा ज्ञान साझेदारका रूपमा सहभागिता जनाएका थिए।

आयोजकका अनुसार दोस्रो दिनका विभिन्न सत्रमा १ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष सहभागी भएका छन् भने काठमाडौं क्लाइमेट विक–२०२६ का कार्यक्रम तथा गतिविधिमा १० हजारभन्दा बढी व्यक्ति भर्चुअल माध्यमबाट जोडिएका छन्।

दोस्रो दिनको मुख्य केन्द्र जलवायु न्याय रहेको थियो। युवा नेतृत्व, जलवायु न्यायमा अन्तरसम्बन्धित दृष्टिकोण, आदिवासी जनजातिका सवाल तथा नेपालको जलवायु उत्थानशील भविष्य निर्माणलगायत विषयमा छलफल भएको थियो।

त्यस्तै, रसुवा–भोटेकोशी क्षेत्रमा भएको जलवायुजन्य विपद्पछि नागरिक समाजको भूमिका, सञ्चारमाध्यमको प्रतिक्रिया तथा जलवायु न्यायका सवालमा समेत विशेष अन्तरक्रिया गरिएको थियो। हानि तथा क्षति (लस एन्ड ड्यामेज) अन्तर्गत जलवायु वित्त, हानि तथा क्षति तथा अनुसन्धान र नीतिबीचको सम्बन्धबारे पनि संवाद भएको आयोजकले जनाएको छ।

दिगोपन र जलवायु कार्यअन्तर्गत जलवायु उत्थानशील कृषि प्रणाली, जैविक कृषि, स्थानीय जलवायु कार्य तथा चक्रीय अर्थतन्त्रका विषयमा छलफल भयो। स्थानीय ज्ञान, अनुभव र समुदायमा आधारित पहललाई जलवायु समाधानसँग जोड्ने विषयमा पनि जोड दिइएको थियो।

प्रविधिसम्बन्धी सत्रमा जलवायु बुझाइ निर्माणमा कन्टेन्ट क्रिएटरको भूमिका, डेटा, कृत्रिम बौद्धिकता (एआई) तथा प्रविधिको प्रयोग र नेपालको पूर्वाधारलाई जलवायु जोखिमबाट उत्थानशील बनाउने विषयमा छलफल भएको थियो।

त्यसैगरी, निजी क्षेत्रका लागि जलवायु न्यायसम्बन्धी सत्रमा निजी जलवायु वित्त, जलवायु कार्यमा निजी क्षेत्रका नवप्रवर्तन तथा नेपालको बैंकिङ क्षेत्रलाई थप हरित बनाउने विषयमा संवाद गरिएको थियो।

काठमाडौं क्लाइमेट विक–२०२६ को औपचारिक सुरुवात अक्टोबर १ मा भएको हो। कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए। तीनदिने कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो दिन विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया भएका छन् भने समापन कार्यक्रम अक्टोबर ४ मा आयोजना हुँदैछ।
समापन कार्यक्रममा तीन दिनका छलफलबाट प्राप्त प्रमुख सिकाइ, विचार तथा आगामी जलवायु कार्यका सम्भावित दिशाबारे थप संवाद गरिने आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !