चाडबाडको मुखमा अनलाइन ठगी बढ्दो, सामाजिक सञ्जालका ‘अफर’मा सचेत रहन प्रहरीको आग्रह
पोखरा । बडादशैँ र तिहार नजिकिँदै गर्दा अनलाइन ठगीका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जालमार्फत हुने खरिद–बिक्रीमा सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा आकर्षक तथा अस्वाभाविक रूपमा सस्तो मूल्यका सामानको विज्ञापन राख्ने, अग्रिम भुक्तानी गर्न लगाउने र रकम लिएपछि सम्पर्कविहीन हुने प्रवृत्ति बढेको छ। विशेषगरी टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत अनलाइन खरिद–बिक्री गर्ने क्रममा ठगीका घटना हुने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा चालु वर्ष अनलाइन ठगीसम्बन्धी उजुरी बढ्दै गएका छन्।
प्रहरीका अनुसार हालै पोखराका एक व्यक्तिले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीबाट सामान खरिद गर्ने क्रममा चार लाख ४२ हजार रुपैयाँ गुमाएका थिए। पाँच सय रुपैयाँको कुर्था खरिद गर्न खोज्दा अग्रिम भुक्तानीका नाममा पटक–पटक रकम पठाउन लगाएर ठगी गरिएको प्रहरीको भनाइ छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले धनगढीबाट १७ वर्षीय एक किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
डीएसपी पासवानले सामाजिक सञ्जालका व्यक्तिगत पेज वा टिकटक आइडीमार्फत दिइने अस्वाभाविक रूपमा सस्ता अफरप्रति सचेत रहन आग्रह गरे। उनका अनुसार अनलाइन खरिद गर्दा सम्भव भएसम्म सामान प्राप्त गरेपछि मात्र भुक्तानी गर्ने ‘क्यास अन डेलिभरी’ जस्ता विधि अपनाउनु सुरक्षित हुन्छ।
प्रहरीले अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक रूपमा दर्ता भएका तथा विश्वासिला अनलाइन पोर्टललाई प्राथमिकता दिन सुझाव दिएको छ। दर्ता नभएका अनलाइन पसलमा विश्वास नगर्ने, अपरिचित व्यक्ति वा खातामा अग्रिम रकम नपठाउने तथा अस्वाभाविक रूपमा सस्ता वा आकर्षक अफरमा नलोभिन प्रहरीले आग्रह गरेको छ।
प्रहरीका अनुसार अनलाइन ठगीबाट जोगिन उपभोक्ता स्वयं सचेत हुनु महत्वपूर्ण छ। शंकास्पद कारोबार वा ठगीको आशंका भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।
– न्युज एजेन्सी नेपाल









