विजया दशमीको टीकाको साइत बिहान १०ः२६ बजे
काठमाडौं । यस वर्षको बडादशैंअन्तर्गत विजया दशमीको टीकाको साइत बिहान १०ः२६ बजे रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैं २०८३ सालका विभिन्न साइतअनुसार कात्तिक ४ गते बुधबार विजया दशमीका दिन टीकाको उत्तम साइत बिहान १०ः२६ बजे तोकिएको हो।
समितिका अनुसार विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ। त्यसपछि बिहान १०ः२६ बजे टीकाको साइत तोकिएको छ। टीका लगाउँदा पश्चिम मोहडा गरी बस्नुपर्ने र टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।
विजया दशमीका दिन नै बिहान १०ः४९ बजे श्री तुलजाभवानी यात्राको साइत रहेको छ भने दिउँसो ११ः४२ बजे स्थिरासनको साइत तोकिएको छ। यसैगरी खड्गयात्राको समेत साइत रहेको समितिले जनाएको छ।
यसअघि बडादशैंको मुख्य दिनतर्फ अघि बढ्ने क्रममा असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापनाको साइत बिहान ११ः४७ बजे रहेको समितिले जनाएको छ। घटस्थापनाका दिन विधिपूर्वक जमरा राख्ने तथा देवीको आराधना सुरु गरिन्छ।
असोज २६ गते सोमबार बिहान १०ः०६ बजे झण्डा फेर्ने (पश्चिम मोहडा) साइत रहेको छ। असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा तथा असोज ३१ गते शनिबार फूलपाती र श्री तुलजाभवानी यात्राको साइत रहेको समितिले जनाएको छ। फूलपातीका दिन बिहान ७ः३० बजे श्री तुलजाभवानी यात्रा र बिहान १०ः३९ बजे स्थिरासनको साइत तोकिएको छ।
कात्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि र कात्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ। त्यसपछि कात्तिक ४ गते बुधबार विजया दशमी परेको हो।
समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन छुट्टै साइत आवश्यक नपर्ने स्पष्ट पारेको छ। विजया दशमीको टीकाको साइत भने शुभ मुहूर्तका रूपमा निर्धारण गरिएको समितिले जनाएको छ।
यस वर्षको बडादशैंका प्रमुख साइतहरू यसप्रकार छन् :
- असोज २५ गते, आइतबार — घटस्थापना : बिहान ११ः४७ बजे
- असोज २६ गते, सोमबार — झण्डा फेर्ने : बिहान १०ः०६ बजे
- असोज २९ गते, बुधबार — श्री पचलीभैरव यात्रा
- असोज ३१ गते, शनिबार — फूलपाती तथा श्री तुलजाभवानी यात्रा : बिहान ७ः३० बजे
- कात्तिक १ गते, आइतबार — महाअष्टमी तथा कालरात्रि
- कात्तिक ३ गते, मंगलबार — महानवमी
- कात्तिक ४ गते, बुधबार — विजया दशमी
- कात्तिक ४ गते — देवी विसर्जन : बिहान ८ः४९ बजे
- कात्तिक ४ गते — टीकाको साइत : बिहान १०ः२६ बजे
- कात्तिक ४ गते — श्री तुलजाभवानी यात्रा : बिहान १०ः४९ बजे
- कात्तिक ४ गते — स्थिरासन : दिउँसो ११ः४२ बजे










