२० आश्विन २०८३, मंगलबार

पोषणयुक्त ‘जिङ्क गहुँ–१’ प्रवर्धन गर्न बिग एग्रो र नार्कबीच सम्झौता

प्रकाशित मिति :  6 October, 2026 10:05 pm


काठमाडौं । पोषणयुक्त ‘जिङ्क गहुँ–१’ को उत्पादन, प्रवर्धन तथा बजारीकरण विस्तार गर्ने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र बिग एग्रो ग्रुप लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौताअनुसार जिङ्क गहुँ–१ को बीउ उत्पादन तथा किसानसम्म प्रवर्धन गर्न नार्कले प्राविधिक सहयोग र आवश्यक परामर्श उपलब्ध गराउनेछ। बिग एग्रोले किसानबाट उत्पादित गहुँ खरिद गरी प्रशोधन तथा बजारीकरण गर्नेछ।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम र मेक्सिकोस्थित अन्तर्राष्ट्रिय गहुँ तथा मकै अनुसन्धान केन्द्र (सिमिट) को संयुक्त प्रयासमा बायोफोर्टिफिकेसन प्रविधिबाट विकास गरिएको जिङ्क गहुँ–१ मा साधारण गहुँको तुलनामा जिङ्क र आइरनको मात्रा बढी रहेको नार्कले जनाएको छ।

नार्कका अनुसार जिङ्क गहुँ–१ मा जिङ्कको मात्रा ३५ देखि ५२ पीपीएम र आइरनको मात्रा ३४ देखि ४१ पीपीएमसम्म हुन्छ। तराई, भित्री मधेश तथा समुद्र सतहदेखि करिब ८०० मिटर उचाइसम्म यसको व्यावसायिक खेती गर्न सकिने बताइएको छ।

यस गहुँको प्रतिहेक्टर उत्पादकत्व ५.०१ टनसम्म रहेको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको तथ्याङ्क छ। नेपालमा गहुँको राष्ट्रिय औसत उत्पादकत्व भने प्रतिहेक्टर करिब तीन टन रहेको छ। जिङ्क गहुँ–१ खैरो सिन्दुरे, पहेँलो सिन्दुरे र पात डढुवा (स्पट ब्लोच) लगायतका प्रमुख रोगप्रति प्रतिरोधी रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

जिङ्क गहुँ–१ को व्यावसायिक खेती विस्तारका लागि किसानले उत्पादन गरेको गहुँ बिग एग्रोले खरिद गर्नेछ। किसानलाई यसको खेतीतर्फ आकर्षित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश सरकार तथा स्थानीय तहबाट समेत आवश्यक सहजीकरण गरिने बताइएको छ।

बिग एग्रोले किसानबाट खरिद गरेको गहुँलाई प्रशोधन गरी ‘राज चक्की आटा’ ब्रान्डमा बजारमा ल्याउने जनाएको छ। कम्पनीका अनुसार आटा उत्पादन गर्दा गहुँमा रहेका प्राकृतिक फाइबर तथा पोषक तत्व संरक्षण हुने गरी प्रशोधन गरिनेछ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार ‘राज चक्की आटा’ मा १४.८८ प्रतिशत प्रोटिन, १३.८९ प्रतिशत ग्लुटेन, २.०३ प्रतिशत क्रुड फाइबर र १.७२ प्रतिशत फ्याट हुनेछ। प्रति १०० ग्राम आटामा ३.४९ मिलिग्राम आइरन, ५.२२ मिलिग्राम जिङ्क, ४५.७२ मिलिग्राम क्याल्सियम र १८१.०१ मिलिग्राम फस्फोरस हुने जनाइएको छ।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार सन् २०२४/२५ मा उत्पादन तथा वितरण भइरहेको ४३ हजार ८२८ किलो प्रजनन् बीउमध्ये जिङ्क गहुँ–१ को मात्रा चार हजार ९४ किलो रहेको छ। यो कुल प्रजनन् बीउको करिब ९.३ प्रतिशत हो। निजी बीउ कम्पनीहरूको कुल उत्पादनमा समेत जिङ्क गहुँ–१ को हिस्सा करिब १४ प्रतिशत पुगेको कार्यक्रमको तथ्याङ्क छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि अनुसन्धान, प्रविधि विकास तथा प्रसारका क्षेत्रमा काम गर्ने प्रमुख सरकारी अनुसन्धान संस्था हो। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रममार्फत नार्कले नेपालका विभिन्न भूगोल र हावापानीअनुकूल गहुँका जातको अनुसन्धान तथा विकास गर्दै आएको छ।

बिग एग्रो ग्रुप लिमिटेड कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणमा संलग्न निजी क्षेत्रको कम्पनी हो। कम्पनीले किसानबाट कृषि उपज खरिद गरी प्रशोधन तथा मूल्य अभिवृद्धिसहित बजारमा पुर्‍याउने काम गर्दै आएको जनाएको छ। जिङ्क गहुँ–१ को व्यावसायिक उत्पादन र बजारीकरणमा नार्कको अनुसन्धान तथा प्राविधिक क्षमता र बिग एग्रोको बजार तथा प्रशोधन संरचनालाई जोड्ने गरी सम्झौता गरिएको हो।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले सन् २०२७ सम्म नेपालको कुल गहुँ खेती हुने क्षेत्रफलको ३० प्रतिशतमा जिङ्क र आइरनयुक्त बायोफोर्टिफाइड गहुँ विस्तार गर्ने लक्ष्य राखेको छ।



प्रतिक्रिया दिनुहोस !