नेपाल वायुसेवा निगमको पुनरुत्थानका लागि तीन वर्षे कार्ययोजना आवश्यक : सांसद डा. रेग्मी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक अवस्था सुधार गर्न र वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक रहेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले निगमको व्यवस्थापकीय सुधार, डिजिटल बिक्री प्रणाली र रुट व्यवस्थापनमा तत्काल पहल गर्नुपर्नेमा जोड दिएका हुन्।
सांसद डा. रेग्मीले निगमले हवाई भाडा नियन्त्रणमा थप सक्रिय भूमिका खेल्नुपर्ने बताए। निगमको घाटा न्यूनीकरण गर्न वित्तीय लेखापरीक्षण, रुट प्रोफिट्याबिलिटी अर्थात् कुन रुटमा कति नाफा हुन्छ भन्ने विश्लेषण तथा कार्गो र ग्राउन्ड ह्यान्डलिङको छुट्टै लेखा प्रणाली लागू गर्न उनले सुझाव दिए।
जहाजको ओभरहाल अर्थात् मर्मतसम्भार समयमै हुन नसक्दा उडान तालिका प्रभावित हुने गरेको विषयमा ध्यानाकर्षण गराउँदै उनले यसलाई व्यवस्थापकीय कमजोरीका रूपमा औँल्याए।
“निगमले बजार मूल्यभन्दा केही सस्तो दरमा सेवा प्रदान गर्न सके मात्र अन्य विदेशी एयरलाइन्सको अस्वाभाविक भाडा वृद्धि रोक्न सकिन्छ। यसले पर्यटन प्रवद्र्धनमा समेत मद्दत पुर्याउँछ,” उनले भने।
थप विमान लिजमा ल्याउने सम्बन्धमा डा. रेग्मीले ‘केपटाउन कन्भेन्सन’मा नेपालले तत्काल हस्ताक्षर गर्नुपर्ने आवश्यकता औँल्याए। उक्त सम्झौतामा हस्ताक्षर नभएसम्म अन्तर्राष्ट्रिय स्तरमा सहज रूपमा विमान लिजमा लिन सक्ने अवस्था नरहेको उनको भनाइ थियो।
उनले तीन वर्षको समयसीमा तोकेर व्यवस्थापन सुधार गरे मात्र निगमलाई व्यावसायिक रूपमा सफल बनाउन सकिने विश्वास व्यक्त गरे। समितिको बैठकमा उनले मन्त्रालय र निगम नेतृत्वलाई स्पष्ट लक्ष्यसहित काम गर्न र आवश्यक परे संसद्को समितिले समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
निगमको डिजिटल रूपान्तरण र मर्मतसम्भार प्रणालीमा सुधार ल्याउन सके मात्र प्रतिस्पर्धामा टिक्न सक्ने उनको भनाइ थियो।
– न्युज एजेन्सी नेपाल









