१९ आश्विन २०८३, सोमबार

तरकारीभित्र लुकाएर ल्याइएको २ हजार ५ सय ६६ किलो गाँजा बरामद

प्रकाशित मिति :  5 October, 2026 10:39 am


काठमाडौँ । सुनसरी प्रहरीले तरकारी बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

प्रहरीले इनरुवा नगरपालिका–३ सखुवागाछीबाट तरकारी बोकेको ट्रकबाट २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार असोज १८ गते राति करिब ११ः५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकेको थियो।

ट्रकमा लोड गरिएको तरकारी जाँच गर्ने क्रममा बीच भागमा लुकाएर राखिएको ८३ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राईलाई पक्राउ गरेको छ।

प्रहरीले बरामद गाँजा र ट्रकसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवामा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !