१९ आश्विन २०८३, सोमबार

कांग्रेस महाधिवेशन : आजदेखि बन्दसत्र, निर्वाचन प्रक्रिया पनि सुरु

प्रकाशित मिति :  5 October, 2026 10:03 am


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रअघि बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।

यस्तै, कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आजदेखि केन्द्रीय कार्यसमिति निर्वाचनको प्रक्रिया अघि बढाउँदैछ। आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ भने असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुनेछ।

असोज २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी प्रचारप्रसारको समय दिइनेछ। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

मतदान राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ। मतदान सकिएपछि मतगणना गरिने समितिले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !