२२ आश्विन २०८३, बिहिबार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावर, फोरजी सेवा सञ्चालन

प्रकाशित मिति :  8 October, 2026 12:27 pm


काठमाडौं । एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याउँदै फोरजीसहितका दूरसञ्चार सेवा विस्तार गरेको छ।

नयाँ टावर सञ्चालनमा आएपछि मार्मा गाउँपालिकाको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाले मोबाइल तथा इन्टरनेट सेवाको पहुँच पाएका छन्। दुर्गम हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले टावर जडान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ टावरबाट स्थानीय बासिन्दाका साथै अपि हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिका लागि उक्त क्षेत्रमा पुग्ने पर्यटकलाई समेत सञ्चार सेवा उपलब्ध हुनेछ।

एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले नयाँ टावर सञ्चालनसँगै स्थानीय तथा पर्यटकलाई फोरजी सेवाको पहुँच विस्तार भएको बताइन्।

‘दुर्गम क्षेत्रसम्म गुणस्तरीय दूरसञ्चार सेवा पुर्‍याउने उद्देश्यअनुसार मार्मामा टावर सञ्चालनमा ल्याइएको हो,’ उनले भनिन्।

एनसेलले हाल देशभर चार हजार पाँच सयभन्दा बढी मोबाइल टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार मार्मामा जडान गरिएको नयाँ टावरबाट टुजी र फोरजी प्रविधिमा आधारित सेवा उपलब्ध हुनेछ।

नयाँ टावर सञ्चालनसँगै मार्माको दुर्गम हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच सुधार हुनुका साथै स्थानीय बासिन्दा र पर्यटकलाई सञ्चारमा सहजता हुने कम्पनीको अपेक्षा छ। यसबाट अपि हिमाल क्षेत्रको पर्यटन गतिविधिमा समेत सहयोग पुग्ने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !