२३ आश्विन २०८३, शुक्रबार

लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँः भण्डारी

प्रकाशित मिति :  9 October, 2026 6:00 pm


नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफू पुनः पार्टी राजनीतिमा फर्किएको बताएकी छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्। उनको भनाइ उद्धृत गर्दै पार्टीकी सचिव पद्मा अर्यालले मुलुकमा लोकतन्त्र र संविधानमाथि खतरा देखिएकाले भण्डारी पार्टीमा आबद्ध भएको बताइन्।

अर्यालका अनुसार भण्डारीले लोकतन्त्रको रक्षा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक दलहरूले नै गर्नुपर्ने बताएकी छन्। लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफूले पनि योगदान गरेकाले पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन चाहेको उनको भनाइ थियो।

अर्यालले भनिन्, ‘आजको बैठकमा मूलभूत रूपमा पार्टीको केन्द्रीय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरूको मनोनयन र स्थायी कमिटीमा रिक्त रहेको स्थानमा मनोनयनसम्बन्धी विषयमा स्थायी कमिटीका सदस्यहरूले आफ्ना सुझावहरू प्रस्तुत गर्नुभयो।

बैठक समापन हुनुपूर्व पार्टीका वरिष्ठ नेता कमरेड विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पार्टी जीवनमा फर्किएको बताउनुभयो। अहिले मुलुकमा लोकतन्त्र र संविधानमाथि जुन खतरा देखिएको छ, त्यसको रक्षा लोकतन्त्र ल्याउने राजनीतिक दलहरूले नै गर्नुपर्ने उहाँको भनाइ थियो। म पनि त्यो आन्दोलनमा सहभागी भएँ। त्यसप्रति मेरो माया र विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन सहयोग गर्न सक्छु भन्ने मनसायका साथ पार्टी जीवनमा फर्किएको उहाँले बताउनुभयो।’

बैठकमा पार्टीको केन्द्रीय कमिटीमा रिक्त स्थान, पोलिटब्युरो सदस्यहरूको मनोनयन तथा स्थायी कमिटीमा रिक्त स्थानमा मनोनयन गर्ने विषयमा स्थायी कमिटी सदस्यहरूले सुझाव प्रस्तुत गरेका थिए।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !