२७ आश्विन २०८३, मंगलबार

भारतले दियो उखुका चार जातको विउ, उत्पादकत्व ९३ मेट्रिक टनसम्म

प्रकाशित मिति :  13 October, 2026 8:26 am


काठमाडौँ । भारतले नेपालमा उखुको उत्पादकत्व र चिनी उत्पादन बढाउन उखुका ४ उन्नत जात प्रदान गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गत भारतीय उखु अनुसन्धान संस्थान, लखनउसँगको सहकार्यमा ती उन्नत जात नेपालमा भित्र्याएको हो ।

औपचारिक कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका ४ उन्नत जातका बीउ नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन् ।

भारतबाट ल्याइएका यी चारओटै जात रातो सडन रोग प्रतिरोधी हुनुका साथै अगौटे, मध्यम र पछौटे परिपक्व हुन्छन् । यीमध्ये सीओएलके १६२०२ (CoLk 16202) को उत्पादकत्व प्रतिहेक्टर ९३.२ मेट्रिक टन र सुक्रोजको मात्रा १७.७ प्रतिशत रहेको छ । सीओएलके १६४७० (CoLk 16470) को उत्पादकत्व ८२.५ मेट्रिक टन र सुक्रोज १७.४ प्रतिशत रहेको छ । 

त्यस्तै, सीओएस १७२३१ (CoS 17231) को उत्पादकत्व प्रतिहेक्टर ९१.५ मेट्रिक टन र सुक्रोजको मात्रा १७.७ प्रतिशत रहेको छ । सीओएस १८२३१ (CoS 18231) को उत्पादकत्व ९२.५ मेट्रिक टन र सुक्रोज १८ प्रतिशत रहेको छ । 

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले आगामी दुई वर्ष विभिन्न अनुसन्धान केन्द्रमा यी जातको बीउ उत्पादन तथा तुलनात्मक अध्ययन गर्नेछ । अध्ययनबाट प्राप्त नतिजाका आधारमा उपयुक्त जातको उन्मोचन/दर्ता गरिनेछ ।

जात दर्तापछि बीउ वृद्धि गरी चिनी मिलहरूसँग समन्वय गरेर किसानसम्म पुर्याइने नार्कले जनाएको छ । यी जातको प्रवर्द्धनबाट उखुको उत्पादकत्व र गुणस्तर बढ्नुका साथै किसानलाई लाभ पुग्ने तथा चिनी मिलले उखुबाट बढी चिनी उत्पादन गर्न सक्ने परिषद्को अपेक्षा छ । 

नेपालमा करीब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । यसबाट वार्षिक करीब २७ लाख मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । नेपालमा उखुको औसत उत्पादकत्व प्रतिहेक्टर ५० मेट्रिक टन रहेको छ, जबकि भारतमा प्रतिहेक्टर औसत ८२ मेट्रिक टन उत्पादन हुन्छ ।

नेपालले कुल चिनी खपतको करीब ३० प्रतिशत माग पूरा गर्न वार्षिक रूपमा चिनी आयात गर्नुपर्ने अवस्था छ । चिनीमा आत्मनिर्भर हुन बढी उत्पादकत्व र चिनीको मात्रा भएका उखुका उन्नत जात विकास गर्नुपर्ने आवश्यकता रहेको नार्कले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !