यु–१८ फुटबलमा वागमती र मधेसका टोली च्याम्पियन
काठमाडौं । एशियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि वागमती प्रदेशको मनकामना स्कुल र मधेस प्रदेशको जनज्योति सेकेन्डरी स्कुलले जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा छात्रातर्फ मधेसको जनज्योति सेकेन्डरी स्कुल र छात्रतर्फ वागमतीको मनकामना स्कुल च्याम्पियन बनेका हुन् ।
छात्रातर्फको फाइनलमा जनज्योति सेकेन्डरी स्कुलले सुदूरपश्चिम प्रदेशको श्री जीवनज्योति माध्यमिक विद्यालयलाई ७–२ गोलअन्तरले पराजित गर्यो । जनज्योतिका लागि अनिता रानामगरले ह्याट्रिक गरिन् । विजेता राईले दुई तथा दीक्षा रानापाल र रकिशा दंगालले समान एक गोल गरे । सुदूरपश्चिमकी बिबिशा बिष्टले दुई गोल फर्काए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकिनन् ।
छात्रतर्फको फाइनलमा वागमतीको मनकामना स्कुलले गण्डकी प्रदेशको गुरुकुल विद्यासदनलाई २–० गोलले हरायो । खेल सकिन एक मिनेट बाँकी छँदा मनकामनाले दुई गोल गरेपछि गण्डकी उपाधिबाट वञ्चित भयो ।
प्रतियोगितामा देशभरका ३२७ विद्यालयले जिल्ला र प्रदेशस्तरका छनोट पार गर्दै राष्ट्रिय चरणमा प्रतिस्पर्धा गरेका थिए ।
उपाधि विजेता दुवै टोलीले एक लाख रुपैयाँ र ट्रफी प्राप्त गरे भने उपविजेता टोलीले ५० हजार रुपैयाँ र ट्रफी पाए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा महिला टोलीकी पूर्वकप्तान अञ्जिला तुम्बाप्पो सुब्बालगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कृत गरे ।
– न्युज एजेन्सी नेपाल








