२७ आश्विन २०८३, मंगलबार

जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पर्यावरणमैत्री पूर्वाधारमा जोड दिनुपर्छ : भण्डारी

प्रकाशित मिति :  13 October, 2026 8:18 am


काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।

सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले तापक्रममा भइरहेको असन्तुलित वृद्धिका कारण विश्वले गम्भीर चुनौती सामना गरिरहेको बताइन् ।

हिन्दुकुश क्षेत्रको भूगोलमा पर्ने भएकाले नेपाल जलवायु परिवर्तनका असरबाट थप जोखिममा रहेको उनको भनाइ थियो ।

हिमाली क्षेत्रमा दोहोरिइरहेका विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएको उनले बताइन् ।

विपद्पछिको उद्धार र राहतमा मात्र सीमित नभई भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र दीर्घकालीन योजनामा ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

“आज तापक्रमको असन्तुलित वृद्धिले विश्व नै गम्भीर चुनौतीको सामना गरिरहेको छ । हाम्रो देश नेपाल हिन्दुकुश क्षेत्रको भूगोलमा पर्ने हुँदा हामी झन् गम्भीर संकटमा छौँ । त्यसैले हिमाली क्षेत्रमा दोहोरिरहेका यस्ता विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइरहेको छ,” उनले भनिन् ।

वातावरण संरक्षणसँगै सुरक्षित र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा दीर्घकालीन ध्यान दिनुपर्ने उल्लेख गर्दै भण्डारीले यसका लागि तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताइन् ।

जलवायु परिवर्तनका चुनौती सामना गर्न सबै पक्षबीच सहकार्य र समन्वय अनिवार्य रहेको उनको भनाइ थियो ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !