बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् ।
३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । तर, हालै आएको विनाशकारी बाढीले उनको कारखाना पूर्ण रूपमा बगाएपछि उनी रोजगारी र आम्दानीको स्रोतबाट वञ्चित भएकी थिइन् ।
पाँच सदस्यीय परिवारको जीविकोपार्जनको जिम्मेवारी सम्हाल्दै आएकी मिजारलाई बाढीका कारण क्षतिग्रस्त व्यवसाय पुनः सञ्चालन गर्न आर्थिक कठिनाइ भइरहेको थियो ।
बाढीपीडितको आर्थिक पुनरुत्थान तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले घिमिरेले सामाजिक उत्तरदायित्वअन्तर्गत मिजारलाई निःशुल्क मेसिन उपलब्ध गराएका हुन् ।
मेसिन प्राप्त भएपछि मिजारलाई पुनः घरेलु व्यवसाय सञ्चालन गरी आम्दानीको स्रोत जुटाउन र परिवारको जीविकोपार्जन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बाढीबाट प्रभावित परिवारलाई आत्मनिर्भर बनाउन गरिएको यस सहयोगप्रति स्थानीयवासी तथा पीडित परिवारले घिमिरे र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घप्रति आभार व्यक्त गरेका छन् ।









